काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए म्याच–प्लेको उपाधि नेपाल नम्बर दुई गल्फर निरज तामाङले जितेका छन् । ३६ होलको फाइनल प्रतिस्पर्धामा आठौं वरीयताका धन बहादुर थापालाई ५÷४ ले हराउँदै निरज सिजनको तेस्रो उपाधि जित्न सफल भएका हुन् । उनको यो करियरको चौथो उपाधि हो ।
रोयल नेपाल गल्फ क्लबमा भएको फाइनल प्रतिस्पर्धामा निरजले धन बहादुर थापालाई पहिलो नौ होलमा २ होलले पछि पारेका थिए । यसपछि १८ होल सकिँदा निरजले ६–होलको फराकिलो अग्रता बनाए । एकपक्षीय जितको नजिक निरज पुगेका थिए । तर धनले सहजै हार मानेनन् । २७ होलको समाप्तिमा अग्रता ५–होलमा छोट्याए । यसपछि ३२ औँ होलको खेल बराबरीमा सकिएसँगै निरजले ४ होल अगाडि उपाधि जिते ।
उपाधिसँगै निरजले नगद ६० हजार रुपैयाँ प्राप्त गरेका छन् । दोस्रो भएका धनले ४२ हजार रुपैयाँ प्राप्त गरे । निरजले पहिलो चरणमा सूर्य प्रसाद शर्मा, क्वाटरफाइनलमा रामे मगर र सेमिफाइनलमा दिनेश प्रजापतिलाई हराएका थिए । निरजले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन र सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका थिए । डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापतिले तेस्रो स्थान प्राप्त गरे । दिनेशले रवि खड्कालाई १८ होलको प्रतिस्पर्धामा चार÷दुई ले माथ दिए । दिनेशले ३२ हजार र रविले २४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।