काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले डिजिटल बैंकिङ कारोबार सुरु गरेको छ । संस्थाले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) जोडी डिजिटल कारोबार सुरु गरेको हो । यसैसँग इन्फिनिटी लघुवित्त एनपीआईमार्फत आफ्नो प्रणालीबाट कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको छ ।
संस्थाले अब एनसीएचएल–आईपीएस र आरपीएस प्रणालीमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानीलगायतका विभिन्न संकलनका कारोबारहरू गर्न सक्नेछन् । साथै तलब, भेन्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खातामा सोझै गर्न सक्नेछन् । इन्फिनिटी लघुवित्तले एनपीआईमार्फत आफ्नो शाखाहरूको बैंक खातामा भएको रकम सहजै सेन्ट्रलाइज गर्न समेत सक्नेछन् ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको एनपीआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पीएसपी/पीएसओ, रेमिटेन्स कम्पनीहरू, ११ वटा लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थालगायतका एक सयभन्दा बढी गैर—बैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । यसमार्फत सदस्यहरूले संस्थाहरूले एनसीएचएल–आईपीएस र आरपीएस प्रणालीहरूको प्रयोग गर्न सक्नेछन् । २०७३ मा स्थापित संस्थाले नेपालका निम्न आय वर्गका परिवारहरूलाई बचत निक्षेप संकलन तथा ऋण भुक्तानी, रेमिट्यान्स तथा माइक्रो बीमाका सेवाहरू प्रदान गर्दै आइरहेको छ । इन्फिनिटीले आफ्नो सामूहिक नेटवर्कमार्फत लेन्डिङ मोडल पछ्याउँदै नेपालको ४८ जिल्लाहरूमा ९६ शाखाहरू फैलाएको छ र एक लाखभन्दा बढी घरदुरी ओगटेको छ । इन्फिनिटीले विभिन्न सरोकारवालाहरूलाई प्राविधिक सहयोगसहित गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।