काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सजिलो इ–लोन सेवा सुरु गरेको छ । कम्पनीका सञ्चालक समिति तथा उच्च व्यवस्थापनको उपस्थितिमा अध्यक्ष डा रामहरि अर्यालले इ–लोन सेवा उद्घाटन गर्दै घरबाटै बीमित (पोलिसी होल्डर)ले ऋणको लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएका हुन् । यो सेवाअन्तर्गत बीमितले घरबाटै आईएमई लाइफ मोबाइल एप वा वेबसाइटका माध्यमबाट पाँच हजारदेखि एक लाख रुपैयाँसम्म इ–लोनका लागि आवेदन दिन सक्नेछन् ।
बीमितले कम्पनीको वेबसाइटमार्फत ऋण आवेदन चौबीसै घण्टा आफूरहेको स्थानबाटै दिन सक्नेछन भने कार्यालय समयभित्र तुरुन्तै र बिदाको दिन कार्यालय समय सुरु हुनेबित्तिकै सजिलै ऋण आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । यसरी ऋण लिनको निमित्त कुनै पनि अतिरिक्त सेवा शुल्क लाग्ने छैन । ऋण सुविधा पाउनको लागि बीमितको केवाईसी प्रमाणीकरण पूरा हुनुको साथै बीमा शुल्क भुक्तानी गरेको कम्तीमा तीन वर्ष पूरा भइसकेको हुनुपर्नेछ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले आईएमई लाइफ इ–लोन सेवाले कम्पनीका बीमितहरूलाई सरल र सहज कर्जा सेवा प्रदान गर्ने विश्वास लिएको बताउँदै डिजिटाइजेसन, अटोमेसन र द्रूत सेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै ग्राहकसेवा र अनुभवलाई थप परिष्कृत र उत्कृष्ट बनाउँदै लैजाने प्रयासको निरन्तरता भएको जानकारी दिए । आवेदन दिने, बीमितको केवाईसी प्रमाणीकरण गर्ने प्रक्रिया र आवेदन फारम कम्पनीको आधिकारिक वेबसाइट वा आईएमई मोबाइल एपमा प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।