ढल्केबर । पूर्वगृहमन्त्री मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा सात दलीय मधेशी मोर्चामा अटाउन नसकेका मधेशका १० साना दलहरूले मधेशमा वैकल्पिक शक्ति निर्माण गर्न गठबन्धन गर्ने भएका छन् ।
नेपालको उत्पीडित, उपेक्षित र पछाडि पारिएका वर्ग तथा समुदायको हकअधिकारका लागि सङ्घर्ष गर्ने उद्देश्यले देश र मधेशका लागि वैकल्पिक शक्ति निर्माण गर्न तराई–मधेशमा सक्रिय रहेका साना दलबिच गठबन्धनको तयारी गरिएको नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष रामकुमार महतोले जानकारी दिए ।
अध्यक्ष महतोका अनुसार नेपाल सद्भावना पार्टीको विशेष पहलमा ती दलका नेतृत्वदायी प्रतिनिधिहरूसँग मोर्चाबन्दीका साझा एजेन्डामा छलफल गरिनुका साथै नेपाल सद्भावना पार्टी नेपाल, सङ्घीय समाजवादी पार्टी, नेपाली जनता दल, ऐतिहासिक जनता पार्टी, बहुजन एकता पार्टी नेपाल, जन अधिकार पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी तथा अन्य दलहरूबिच मोर्चाबन्दीको गृहकार्य अघि बढिरहेको छ ।
वैशाख ४ गते पत्रकार सम्मेलनमार्फत नयाँ गठबन्धनको औपचारिक घोषणा गरिने र जेठ १५ गते जनकपुरधाममा भव्य सभा आयोजना गरेर गठबन्धनको औपचारिक घोषणा गरिने उनले बताए । समानुपातिक समावेशीकरण, सङ्घीयता, धर्मनिरपेक्षता र लोकतन्त्रजस्ता उपलब्धिहरूलाई संविधान संशोधनको नाममा कटौती गर्ने सरकारी प्रयासलाई रोक्न देशभर बलियो राजनीतिक शक्तिको आवश्यकता भएको उनको भनाइ छ । १८ जिल्लामा जनजागरण अभियान सञ्चालन गर्ने योजनासमेत बनाएको अध्यक्ष महतोले बताए ।