काठमाडौ । पञ्चकन्या समूहले रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना गरेको छ । पञ्चकन्या समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँगको साझेदारीमा तिलोत्तमा–१५ कोटिहवास्थित आफ्नो औद्योगिक परिसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर सफलतापूर्वक आयोजना गरेको हो ।
शिविरले स्थानीय बासिन्दा, कम्पनीका कर्मचारीहरू र रूपन्देहीमा बसोबास गर्ने समुदायको स्वास्थ्य र कल्याणलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ । भक्तपुर क्यान्सर अस्पतालका डा उज्वल चालिसेको नेतृत्वमा सिद्धार्थनगर सिटी अस्पतालको टोलीसँगै शिविरमा स्तन क्यान्सर जाँच र सामान्य स्वास्थ्य परीक्षणसहित आवश्यक स्क्रिनिङहरू प्रदान गरिएको थियो । कार्यक्रमले क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानको महत्वको बारेमा जागरूकता बढाउनमा पनि केद्रित रहने अपेक्षा कम्पनीले गरेको छ । पाँच देखि ९० वर्ष उमेरका चार सय ३३ महिला र ४४ पुरुषले शिविरबाट लाभ प्राप्त गरेकोमा दुई सय तीन वटा स्तन स्क्रिनिङ र ७१ वटा सामान्य स्वास्थ्य जाँचहरू समावेश भएका थिए ।
शिविरमा जाँचका क्रममा एक जना व्यक्तिलाई क्यान्सर भएको पत्ता लागेको थियो । उनीहरूको तुरुन्तै उपचारका साथै निःशुल्क औषधि समेत प्रदान गरिएको कम्पनीले जनाएको छ । १९ जनामा लक्षणहरू देखापरेका थिए । थप प्रयोगशाला रिपोर्टहरूको पर्खाइमा रहेको कम्पनीले जनाएको छ । यस शिविरबाट लगभग ९५ प्रतिशत सहभागीहरूले निःशुल्क औषधि प्राप्त गरेको तथाङ्क कम्पनीले सार्वजनिक गरेको छ ।