जापान, साउन १५
टोक्यो ट्रेडिङमा सवारीसाधन निर्माता निसानको सेयर १० प्रतिशतले घटेको छ । वार्षिक रुपमा करिब साढे ४ अर्ब अमेरिकी डलर सञ्चालन घाटा व्यहोर्ने अनुमानपछि कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको हो । कम्पनीले वार्षिक आर्थिक अवस्थाको खराब अनुमान गरेको छ । दशकयताकै न्यून बिक्रीको अनुमान गरेको छ । कोरोनाको कारण विश्व कार उद्योगमा पनि नराम्रो असर परेको छ ।
बजार अनिश्चित रहेको बेला अझै कोरोनाको दोस्रो लहरले स्थिति बिग्रिनसक्ने निसानका प्रमुख कार्यकारी अधिकृत माकुतो उचिदाले लगानीकर्ताहरुलाई भनेका छन् । त्यस्तै कम्पनीले यो वर्ष सेयरधनीलाई लाभांश समेत नबाँड्ने जानकारी गराइसकेको छ । यो वर्ष अप्रिल–जुन अवधिमा कम्पनीको विश्वव्यापी बिक्रीमा ४८ प्रतिशत गिरावट आएको छ । त्यस्तै चीनमा पनि कम्पनीका सवारीसाधन बिक्रीमा ४० प्रतिशतले कमी आएको छ ।
कोरोना महामारीअघि नै कम्पनी विभिन्न आन्तरिक झमेलामा फस्दै आएको थियो । मे महिनामा कम्पनीले पुनः लयमा फर्किने योजना अघि सारेको थियो । अघिल्लो आवमा मात्रै कम्पनीले दुई दशकयताकै ठूलो घाटा व्यहोरेको थियो । कम्पनीको नयाँ चार वर्षे योजनामा २० प्रतिशत उत्पादन कटौती गरिने उल्लेख छ । त्यस्तै कम्पनीको स्पेनको बार्सिलोनामा रहेको प्लान्ट पनि बन्द गर्ने नयाँ योजनामा जनाइएको छ ।