काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्नेे बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारणसभामा उनले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले नेतृत्व लिने बताए । कार्यक्रममा उनले देश समृद्ध बनाउन निजी क्षेत्रलाई निर्वाधरूपमा काम गर्न दिन पनि आग्रह गरे । ‘अर्थतन्त्रलाई कुनै पनि वादले बिथोल्नु हुँदैन । यसलाई सबैभन्दा माथि राख्नुपर्छ । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो । त्यसका लागि पैसा, बुद्धि, विवेक र सिपको लगानी गर्नुपर्छ ।’ विगतमा सरकारले चाहिनेभन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र संकुचन भएको उल्लेख गर्दै उनले त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको बताए ।
प्रतिकूलतामा अनुकुलता खोज्दै देशमा केही गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार र निजी क्षेत्र लाग्नुपर्नेमा उनको जोड थियो । ‘अवस्था सुधारोन्मुख छ । तर हाम्रा युवाहरूको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारीका अवसरहरू सिर्जना गर्न सक्दैनाँै, निराशालाई आशामा बदल्न सकिँदैन’, उनले भने, ‘अहिले व्याप्त निराशा त्यसैको परिणाम हो ।’
पछिल्लो दुई वर्षमा भारत, चीन र युएईमा सम्पन्न चारवटा सम्मेलनको अनुभवबाट विदेशी लगानीकर्ता नेपाल आउन इच्छुक रहेको उल्लेख गर्दै उनले सार्थक प्रयास गर्ने हो भने विदेशी लगानी बढाउन सकिने बताए । विश्वव्यापीरूपमा नयाँ आर्थिक परिवेशले पनि नेपाललाई लाभ दिने संकेत गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालका प्रतिष्पर्धी मुलुकहरूको तुलनामा अमेरिकाले नेपालका लागि निकै कम भन्सार दर तोकेकोले नेपालमा लगानी बढ्न सक्ने सम्भावना झन बलियो बनाएको उल्लेख गरे । यसबाट नेपालले लाभ लिन सक्नुपर्ने उनको धारणा छ ।
पछिल्लो पटक भएका नीतिगत सुधारले सकारात्मक संकेत गरेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटलाई सुधारको प्रस्थानविन्दुका रूपमा ल्याउनुपर्नेमा जोड दिए । सरकारले महासंघको आग्रहमा गरेको नयाँ चरणको आर्थिक सुधार र त्यसको आधार तयार पार्न उच्चस्तरीय आयोग गठन, करिब ३५ वटा कानुनमा सुधार, द्विपक्षीय लगानी सम्झौताको खाका तयार तथा उत्पत्तिको प्रमाणपत्रलाई पूर्ण अनलाइन बनाउनेजस्ता कार्य सकारात्मक भएको बताउँदै सरकारको यो अग्रसरताले अर्थतन्त्रलाई चलायमान बनाउने उनको भनाइ छ । यद्यपि देशमा ८६ प्रतिशत रोजगारी सिर्जना गरेको, ८० प्रतिशतभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष राजस्वमा योगदान र ८१ प्रतिशत हिस्सा लगानी गरेको निजी क्षेत्र अझै सम्मानित हुने अवस्था नरहेको उनले गुनासो गरे ।
कार्यक्रममा उनले निजी क्षेत्रको सुरक्षा, सम्मान र मर्यादाक्रमको विषयमा सरकारको ध्यानाकर्षण गराए । ‘हामीले सुरक्षाको विषय उठाएका हौँ । सम्मानको विषय उठाएका हौँ । मर्यादाक्रमको विषय उठाएका हौँ । यसमा राज्यको कुनै लगानी हुँदैन । मात्र सद्भाव चाहिएको हो’, उनले भने । देशभित्र लगानीकर्ताको मनोबल बढाउन बहस पैरवीसँगै महासंघले आन्तरिक पुँजी परिचालनका लागि नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको उनले जानकारी दिए । यसले मुलुकका ७७ वटै जिल्ला र मुलुकबाहिर छरिएर रहेको सानोसानो पुँजीलाई एकत्रित गर्दै ठूला आयोजनामा लगानी अवसर खोलिदिएको उनको भनाइ छ ।