काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपीएफ क्लब र अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडको सहकार्यमा प्रथम ‘एपीएफ महिन्द्रा स्पोट्र्स अवार्ड २०८१’ समारोह सम्पन्न भएको छ ।
काठमाडौं हलचोकस्थित नेपाल एपीएफ क्लबको कृष्ण मोहन स्मृति भवनमा शुक्रबार आयोजना गरिएको समारोहमा खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सँगठन तथा राष्ट्रको गौरवको लागि उल्लेखनीय योगदान पुर्याएका खेलाडी तथा अन्य खेल व्यक्तित्वहरूको सम्मान गरिएको हो । समारोहमा गृहमन्त्री रमेश लेखकले जनही ५० हजार रुपैयाँको नगद पुरस्कारसहित महिला फुटबल खेलाडी रेनुका नगरकोटीलाई ‘एपीएफ महिन्द्रा प्लेयर अफ द इयर २०८१– महिला’ र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई ‘एपीएफ महिन्द्रा प्लेयर अफ द इयर २०८१–पुरुष’को उपाधि र सम्मान–पत्र हस्तान्तरण गरेका थिए ।
यसैगरी युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले २५ हजार रुपैयाँको नगद पुरस्कारसहित कराँते खेलाडी मोहम्मद सेखु आलमलाई ‘मस्ट पपुलर एपीएफ महिन्द्रा प्लेयर अफ द इयर २०८१–पुरुष’ को उपाधिसहित सम्मान–पत्र हस्तान्तरण गरे भने बाग्मती प्रदेशको मुख्यमन्त्री बहादुर सिं लामाले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित महिला फुटबल खेलाडी प्रिती राईलाई ‘मस्ट पपुलर एपिएफ महिन्द्रा प्लेयर अफ द इयर २०८१–महिला’ को उपाधिसहित सम्मान–पत्र हस्तान्तरण गरेका थिए ।
यसैगरी ‘एपीएफ महिन्द्रा टिम अफ द इयर २०८१’ उपाधिसहित ५० हजार रुपैयाँ नगद पुरस्कारबाट एपीएफ महिला फुटबल टिम सम्मानित भएको छ । ‘एपीएफ कोच अफ द इयर २०८१ – पुरुष’ र ‘एपीएफ कोच अफ द इयर २०८१–महिला’को अवार्ड र जनही नगद २५ हजार रुपैयाँ पुरस्कारबाट क्रमशः फुटबल प्रशिक्षक जीवेशकुमार पाण्डे र कराँते प्रशिक्षक गङ्गादेवी अधिकारी सम्मानित भए । त्यसैगरी ‘एपीएफ महिन्द्रा योङ प्लेयर अफ द इयर २०८१–पुरुष’ र ‘एपीएफ महिन्द्रा योङ प्लेयर अफ द इयर २०८१–महिला’को अवार्डसहित जनही २५ हजार रुपैयाँ नगद पुरस्कारबाट अवार्डबाट क्रमशः यु–१६ फुटबल खेलाडी तेञ्जिङ शेर्पा र सावित्री किशन सम्मानित भएका छन् ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाल एपीएफ क्लबका पूर्वप्रशिक्षक तथा पूर्वखेलाडीलाई ‘एपिएफ आईजीपी कमेन्डेसन’को रूपमा कदर–पत्र तथा सहयोग गर्ने व्यक्ति तथा संघ–संस्थालाई कदर–पत्रसहित मायाको चिनो हस्तान्तरण गरेका थिए । त्यसैगरी, विशिष्ट अतिथिद्वारा सम्मानित खेलाडी तथा खेलकर्मीलाई उपाधि, कदर–पत्र, तथा मायाको चिनो हस्तान्तरण गरिएको छ । खेलकुद क्षेत्रमा उत्कृष्ट खेलाडी उत्पादन तथा विकास गर्दै नेपाली खेलकुदको क्षेत्रमा योगदान पुर्याउन सफल एपीएफ क्लबद्वारा खेलाडीहरूलाई प्रोत्साहनस्वरूप यो अवार्ड आयोजना गरिएको हो ।
समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ, नेपाल प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका प्रबन्ध निर्देशक सुजन वैद्य श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भुटान र बङ्लादेशका लागि कन्ट्री हेड चैतन्य कागलकार, अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, अग्नि ग्रुपका अनुसन्धान तथा विकास प्रमुख वेदान्त श्रेष्ठको उपस्थिति रहेको थियो ।