भक्तपुर । हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा मध्यपुरथिमि नगरपालिका बोडेमा स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले यस वर्ष तेस्रोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनेभएका छन् ।
कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठले नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । दुई वर्ष अगाडि बोडेका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए । जात्रा जोगाउन आफूले यस वर्ष पनि जिब्रो छेड्न तयार भएको सुजनले बताए ।
सुजनले भने, “बुबाले जिब्रो छेडाउँदा म पनि सँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो र आँट आयो, त्यो मौका दुई वर्ष अघि जुर्यो, यस वर्ष पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएर महादीप बोकेर बोडे देश घुम्ने छु ।”
सुजनका बुबा बुद्धकृष्णले जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने बताए ।
जिब्रो छेड्नुअघि जात्राका दिन व्रत बस्नेले शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । हालसम्म बोडेका १३ जनाबाट निरन्तर १०८ वर्षसम्म जिब्रो छेडेको इतिहास छ ।