काठमाडौं । नेपाली तथा चिनियाँ अधिकारी एवम् उद्यमीहरूले दुई मुलुकहरूबीच सूचना प्रविधिको क्षेत्रमा आपसी सहकार्य बढाउन आह्वान गरेका छन् । चीनको ग्वाङ्ग्जाओस्थित नेपाली महावाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले स्टार्टअपलाई सहयोग गर्न र लगानी अभिवृद्धि गर्न आह्वान गरेका हुन् । कार्यक्रममा ग्वाङ्ग्जाओस्थित नेपाली महावाणिज्यदूत भरत खनालले नेपालमा डिजिटल रूपान्तरण भइरहेको उल्लेख गर्दै कृषि, पर्यटन, उत्पादन र वित्तीय सेवाजस्ता विविध क्षेत्रमा प्रविधिको माग बढ्दो क्रममा रहेको बताए । चीनले कृत्रिम बुद्धिमत्ता (एआई), फाइभजी र डिजिटल अर्थतन्त्रमा हासिल गरेका उपलब्धिहरू प्रेरणादायी रहेको बताउँदै उनले नेपालको उदाउँदो प्रविधि क्षेत्रलाई जोडेर दुवै देशलाई फाइदा हुने समन्वय सिर्जना गर्नुपर्नेमा जोड दिए ।
महावाणिज्य दूत खनालले हालै नेपालको सङ्घीय सांसदबाट सूचना प्रविधि (आईटी) क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र लगानी प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ कानुनहरू पारित भएको जानकारी दिँदै सरकारले प्रविधिको सम्भावनालाई उपयोग गर्न रूपान्तरणकारी पहलहरू अघि सारेको बताए । उनले चिनियाँ लगानीकर्ता र प्रविधि विज्ञहरूलाई नेपालको उच्च वृद्धिदर भएका क्षेत्रहरू सफ्टवेयर विकास, सूचना प्रविधि सेवा र कृत्रिम बुद्धिमत्ता (एआई)मा लगानी गर्न, अनुसन्धान र विकासका लागि प्रविधि केन्द्रहरूसँग सहकार्य गर्न तथा शैक्षिक तथा औद्योगिक कार्यक्रमहरूमार्फत ज्ञान आदानप्रदान गर्न पनि आह्वान गरे ।
कार्यक्रममा बेलायतमा मुख्यालय रहेको आईटी परामर्श तथा साइबर सुरक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालमा हरेक वर्ष सूचना प्रविधिका हजारौं स्नातकहरू उत्पादन भइरहेका उल्लेख गर्दै ८५ हजारभन्दा बढी फ्रिलान्सरहरू सक्रिय रहेको र झन्डै चार करोड डलर बराबरको डिजिटल अर्थतन्त्र रहेको बताए । नेपाली फ्रिलान्सरहरूले चिनियाँ स्टार्टअपका लागि एआई÷एमएल मोडलहरू निर्माण गरिरहेको उनले बताए । फुयाँलले दुई देशले मिलेर प्रविधिमा आधारित उत्थानशील एसिया निर्माण गर्न सक्नेमा जोड दिए ।
कार्यक्रममा ग्वाङ्जाओ एसोसिएसन फर साइन्स एन्ड टेक्नोलोजीकी सचिव तथा कार्यकारी उपाध्यक्ष सु लिउले चीन र नेपालले पारस्परिक मित्रतासहित शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई पालना गर्दै पूर्वाधार निर्माण, सांस्कृतिक आदानप्रदान र विज्ञान–प्रविधि क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् । नेपालका वैज्ञानिक, प्रविधि क्षेत्र र व्यावसायिक समुदायलाई ग्वाङ्ग्जाओ भ्रमण गर्न, सहकार्यको अवसर पहिचान गर्न र ग्वाङ्डोङ–हङकङ–मकाउ ग्रेटर बे एरियाको विकास लाभहरूमा सहभागी हुन आग्रह गरिन् ।
साउथ चाइना युनिभर्सिटी अफ टेक्नोलोजीसँग आबद्ध प्राज्ञ चेन जुन्लोङले आपसी अनुसन्धान सहकार्य तथा दुवै मुलुकका स्टार्टअपहरू बीच ज्ञान आदानप्रदानमा जोड दिए । कार्यक्रममा बेइजिङ डानचेङ ल अफिसेज एलएलपीकी एटर्नी सुश्री सीआई लीले नेपालमा चिनियाँ कम्पनीहरूले लगानी गर्दा लागू हुने कानुनी व्यवस्था विषयमा प्रस्तुति दिएकी थिइन् । लोटस होल्डिङ्सका सीईओ अजित विक्रम शाह र नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत स्टार्टअप तथा नवप्रवर्तन समिति सदस्य तथा आद्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख निश्चलसिंह भण्डारीले भर्चुअलरूपमा सहभागी भई नेपाल प्रविधिको नयाँ गन्तव्यको रूपमा उदाउँदै गरेको बताउँदै नेपाली कम्पनीहरू चिनियाँ कम्पनीहरूसँग सहकार्य गर्न इच्छुक रहेको जनाएका थिए ।