काठमाडौं । सेयरबजार परिसूचक नेप्से ओरालो लागेको छ । विसं २०८१ सालको अन्तिम दिन अर्थात् आइतबार नेप्से परिसूचक आठ दशमलव ६२ अङ्कले ओरालो लागेर २६ सय ६२ दशमलव आठ विन्दुमा खुम्चिएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने यस दिन शून्य दशमलव ४० अङ्कले उकालो लागेर चार सय ४६ दशमलव ४४ विन्दुमा चढेको छ ।
धितोपत्र बजारमा यस दिन तीन सय २२ वटा कम्पनीहरुको ५४ हजार तीन सय ६१ पटकको कारोबारमा एक करोड ३१ लाख ८९ हजार तीन सय २८ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा यसदिन कुल कारोबार रकम छ अर्ब २८ करोड दुई लाख ९६ हजार दुई सय ४५ रुपैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा यस दिन १३ वटा उपसमूहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये चारवटा उपसमूहहरुको सूचक उकालो लागेर बाँकी उपसमूहहरुको सूचक ओरालो लागेका छन् । सोमध्ये होटल तथा पर्यटन उपसमूहको सूचक १७ दशमलव शून्य नौ अङ्कले उकालो लागेर छ हजार चार सय ५४ दशमलव ९६ विन्दुमा चढेकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि ३७ दशमलव ३७ अङ्कले उकालो लागेर १२ हजार तीन सय एक दशमलव शुन्य नौ विन्दुमा चढेको छ । लगानी र सामूहिक लगानी कोष उपसमूहको सूचक पनि क्रमशः दुई दशमलव शून्य एक र शून्य दशमलव शून्य पाँच अङ्कले उकालो लागेका छन् ।