अपदस्थ राजाले फागुन ७ मा आफूलाई साथ दिन सार्वजनिक आह्वान गरेका केही दिनपछि नै चैत्र १५ गते तीनकुने ताण्डव भयो । ‘राजा फर्काउन’ आन्दोलन गरिएको भनिएको यो काण्डले यसले कति जनधनको क्षति गर्यो भन्ने चित्र धेरै नै डरलाग्दो छ ।
मान्छेलाई जिउँदै जलाएर मारिएको एउटा विवरणले मात्रै पनि त्यस दिनको बीभत्सता बुझाउँछ । त्यस दिन राजा फर्काउने ‘जनविद्रोह’ भनिएको घटनामा दुई जनाको मृत्यु, ५० भन्दा बढी घाइते निजी घरहरूमा आगजनी र लुटपाट र औषधि कारखाना डढाइएका थिए भने छेउमै रहेको विमानस्थमा आगो लगाइएको थियो ।
अहिलेसम्म यसका नायक को थिए भन्ने औपचारिकरुपले पहिचान भइसकेको छैन तर खोजी भने भइरहेको छ । भर्खर मात्रै संसद्को एउटा समितिमा ज्ञानेन्द्र शाह यसका मूल नायक हुन् भन्नेतर्फ केन्द्रित भएर उनको बयान लिनुपर्ने कुरा उठेको छ ।
प्रकट भएका प्रमाणहरूले पनि संसद्मा प्रवेश पाएको यो नामलाई नै इङ्गीत गर्छ जसले यसका मूल योजनाकार भनेर अपदस्थ राजाप्रति औँलो उठ्छ । यो त्यसै आरोप मात्रै लागेको होइन । यसका भरपर्दा आधारहरू छन् ।
जस्तो, पहिलो, उनको फागुन ७ को सार्वजनिक आह्वानमा ।
देस्रो, चैत्र १४ गते उनले भेटेका मान्छे जसमा मेडिकल माफिया दुर्गा प्रसाईँ र राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र थिए । प्रसाईँ सोही दिन राजसंस्था पुनस्र्थापनाका लागि गठित आन्दोलनको ‘जनकमान्डर’ तोकिए । निर्मल निवासबाट बाहिरिँदै भनेका थिए, ‘राजसंस्था पुनस्र्थापना नहुँदासम्म हाम्रो आन्दोलन रोकिँदैन ।’
तेस्रो, चैत्र १५ को तीनकुने सभाको ब्यानरमा दुईवटा ठूला तस्बिर थिए । त्यसमा एउटा यी अपदस्थ राजाको र अर्को यो आन्दोलनका कमान्डर भनी तोकिएका प्रसाईँको ।
तीनकुने सभाको ब्यानरमा रहेका दुईवटा ठूला तस्बिरमध्येका एक जना प्रसाइ अहिले पक्राउमा परिसकेका छन् । अहिलेको प्रश्न हो यो ब्यानरमा रहेका दोस्रा व्यक्ति किन अनुसन्धानबाट समेत बाहिर छन् ? अहिले भइरहेको काम यही प्रश्नको उत्तर खोज्नु हो ।
फौजदारी अभियोगमा प्रमुख योजनाकार मुख्य अभियोगी हुन्छन् । यो कार्यक्रमको आयोजना ज्ञानेन्द्रको फागुन ७ को सार्वजनिक आह्वानबाट भएको थियो भन्नेमा अब कतै शंका रहेको देखिँदैन । यस्तो आन्दोलनका लागि आह्वानकर्ता योजनाकार घटनामा भौतिकरुपले उपस्थित थिए थिएनन् भन्नेले कुनै अर्थ नराख्ने भन्ने कुरा प्रहरीका अभियोग र अदालतका फैसलाहरूले नै बताइरहेको पाइन्छ ।
विश्लेषकहरूको नजर
तीनकुनेका अनुपस्थित अगुवाहरूका बारे एक विश्लेषक नरेन्द्रजङ्ग पिटर भन्छन्– राजावादीहरूको नाममा आन्दोलन भयो, तर जसका लागि आन्दोलन गरियो—उनीहरू नै अनुपस्थित रहे । न ज्ञानेन्द्र शाह, न पारस, न हिमानी । सत्तामा फर्काउने नारा बोकेर भीड उर्लियो—मान्छे मरे, लुटपाट भयो, औषधि कम्पनी जलाइयो—तर जसका लागि भनियो, उनको छायासम्म देखिएन । राप्रपाका राजेन्द्र लिङ्देन र कमल थापा पनि तीनकुनेमा देखा परेनन् । उनीहरू घटनाबाट टाढै रहन रुचाए—जिम्मेवारीको डर वा असफलताको जोखिमले होला ।
अझ रोचक कुरा, अराजक आन्दोलनको पूर्वसन्ध्यामा रवीन्द्र मिश्र र दुर्गा प्रसाईं ज्ञानेन्द्र शाहलाई भेट्न गए । यो सामान्य शिष्टाचार थिएन—रणनीतिक ‘प्लानिङ सेसन’ थियो । प्रश्न उठ्छः ज्ञानेन्द्र शाहलाई तीनकुने काण्डबाट कसरी अछुतो राख्न मिल्छ ? यदि दुर्गा प्रसाईँ, धवल शमशेर, रवीन्द्र मिश्र, नवराज सुवेदीलाई जिम्मेवार ठानिन्छ भने उनीहरूका राजनीतिक प्रेरक ज्ञानेन्द्र पनि उत्तिकै जिम्मेवार छन् । तर त्यत्रो घटनामा पनि निर्मल निवास मौन भयो, जिम्मेवारीको त कुरै छोडौँ, एउटा वक्तव्य पनि आएन ।
यी भनाइले पनि त्यस दिनका विताण्डतायुक्त कार्यक्रमको नायक को थियो भन्ने प्रश्नको केही हदसम्म उत्तर दिन्छ ।
ज्ञानेन्द्रको नाम र काम संसद्मा प्रवेश
संसदीय पद्धतिमा संसद्मा प्रवेश गरेका विषयहरू औपचारिक मानिन्छन् । यो कार्यक्रमको आयोजना ज्ञानेन्द्रको सार्वजनिक आह्वानबाट भएको थियो । त्यस कारण उनलाई प्रमुख योजनाकार मानिएको हुनुपर्छ । संसद्मा प्रवेश गरेको विषयले पनि त्यसै भन्छन् ।
चैत्र १५ को यो घटना कति गम्भीर र कति हिंसात्मक थियो भन्ने त्यसको तीन दिन पछि बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले संसद्लाई गराएको जानकारी र प्रधानमन्त्रीले नै संसद्मा गरेको सम्बोधनलाई आधार मानिँदा पनि मूल अभियोगी करिब–करिब प्रस्ट नै हुन्छ । घटनाको चौथोदिन १८ चैत्रको प्रतिनिधिसभा बैठकमा सभामुखले संसद्लाई यस्तो जानकारी गराएका थिए :
‘विभिन्न मिडिया हाउस तथा सुपर मार्केट, प्रहरी कार्यालय, सरकारी कार्यालय, संस्थान, निजी तथा सरकारी र प्रहरीका सवारीसाधन, सर्वसाधारण नागरिकको निजी घर, राजनीतिक दलका कार्यालय तथा राजनीतिक दलका नेताको निजी निवास समेत तोडफोड र आगजनी गर्नुका साथै प्रहरी कर्मचारीलाई लाठी, ढुङ्गा, विभिन्न घरेलु हतियार तथा सवारीसाधनमा जबर्जस्ती, ड्युटीमा तीनकुनेस्थित प्रदर्शनकारीको कार्यक्रमस्थलनजिकै रहेको घर, सो घरभित्र रहेका विभिन्न कार्यालय समेत तोडफोड र घरभित्र मानिस छ भन्ने कुरा थाहा जानकारी हुँदाहुँदै आगजनी गरी ज्यान मार्नेसम्मको अपराध गर्दा समेत अगुवा नेता तथा कार्यकर्ताले सो आपराधिक कार्यहरूलाई रोक्ने प्रयास नगरी उल्टै प्रदर्शनकारीलाई उक्साई उत्तेजित बनाई माथि उल्लिखित आपराधिक कार्य गरी राज्यविरुद्धको कसुर समेतको अपराध गरेको हुँदा सो कसुरमा प्रतिनिधिसभा सदस्य माननीय डा. धवलशमशेर राणालाई तलितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. १५ सातदोबाटोबाट मिति २०८१/१२/१५ गते अं. २१ः०० बजेको समयमा पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान कार्य गर्दै रहेको व्यहोरा जिल्ला प्रहरी परिसर, अपराध अनुसन्धान तथा कारबाही शाखाको प.सं.०८१/०८२, च.नं. १६१८३ मिति २०८१/१२/१६ गतेको पत्रबाट लेखी आएको हुँदा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (१) को प्रयोजनको लागि सदनलाई जानकारी गराउँछु ।’
यो सूचनामा उल्लेख भएका यी सांसदले यसअघि ज्ञानेन्द्रको फागुन ७ को आह्वानबाट प्रभावित भएर आन्दोलन आन्दोलन गर्न लागिएको भनेर सार्वजनिकरुपमा मन्तव्य नै दिएका थिए । यस दिनको आन्दोलनको यो घटनामा संलग्न भएबापत जनताले निर्वाचित गरेको सांसद पक्राउ पर्दाको जानकारी हो यो । यो ठाउँमा मूल अभियोगी हुनसक्ने मानिएका अपदस्था राजा यतिबेला साधारण नागरिकका हैसियतमा छन् । उनीसँग संसद्ले सोधपुछ पनि गर्न नहुने हो ? यो प्रश्न अहिले निरुत्तरित नै छ । तर अब धेरै समय यस्तो रहन हुँदैन ।
सभामुखले मात्र होइन त्यसै दिन देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले पनि विशेष समय लिएर सम्बोधन गर्दा जे भनेका छन् त्यसले पनि मूल नायक ठहर गर्न मद्दत पुग्ला ।
‘काठमाडौंको तीनकुनेमा सभाको लागि स्थान दिइएको थियो । त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र द्विविधा समेत थियो । त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशंकाका आधार थिए । द्विविधा यस अर्थमा थियो, त्यसका आयोजकमध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरूको पनि थियो ।
तर तीनकुनेका आयोजकहरूले पहिले प्रशासनलाई जाकारी गराएअनुसार सभा गरेनन्, उत्तेजक प्रदर्शन र अराजनीतिक नारासहित भीड सलबलाउन थाल्यो । सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित ‘जनकमान्डर’ आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीमाथि आक्रमण गर्ने, ढुङ्गामुढा गर्ने, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता बारदात सुरु गरिए ।
हुँदाहुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुङ्गामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेन्टल स्टोरहरू लुटपाट गर्नेजस्ता आपराधिक घटना सुरु गरियो । निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आतातायी कार्य भयो । अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई बिस्फोट गराउने आतङ्ककारी काम समेत भयो । प्रहरीका सवारीसाधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो ।
यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्लाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट–शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनुपर्छ ।’
त्यो दिन राजावादीका नाममा गरिएका भयावह वितण्डाका संसद्मा रेकर्ड भएका कुरा हुन् । यति ठूला–ठूला दुर्घटना हँुदा पनि त्यस दिन यसको कसैले जिम्मा लिएका देखिएन । तर यसको सेरोफेरोमा ज्ञानेन्द्र शाहका जस्ता गतिविधिहरू सार्वजनिक भए त्यसले यसका आयोजक उनै हुन् भन्ने देखाउँछ ।
ज्ञानेन्द्रको अति भड्काउ आह्वान
काठमाडौंको तीनकुनेमा यस्तो प्रदर्शन हुनुभन्दा ३७ दिनअघि फागुन ७ मा ज्ञानेन्द्र शाहले देशको अतिरञ्जि नै हुने प्रकारको अवस्था देखाएका थिए उनै आफू अब अघि सरेको र साथ दिन भन्दै आह्वान गरेका थिए त्यसका केही अंश :
‘आज देशको इतिहास मेटिँदै गएको छ । नेपालको अस्तित्व नासिँदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिँदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिरहेको छ । जन्मदै नेपालीको शिरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार व्यवसाय निरन्तर धराशायी बन्दै छ । हुँदाहुँदा हाम्रा शिक्षालयहरूमा समेत शिक्षक र विद्यार्थीहरू पातलिँदै गएका छन् । नेपालको पद्धति, नीति र गतिविधि ठीक छैन, यहाँ बसेर केही हुँदैन । श्रम, सीप चेतना र ज्ञान भएका हाम्रा नागरिकहरूमा त्यस प्रकारको भाष्य चलिरहेको छ ।
प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्दछ । जनताको भरोसा बढाउने प्रणाली हुनुपर्दछ । प्रजातन्त्र फल्दै फूल्दै जाँदा हामी सबैको भाग्य र भविष्य चम्कन्छ भन्ने भावना जाग्रित गराउने हुनुपर्दछ । तर तीन दशकयताको हाम्रो स्थिति यस्तो छैन । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखको कुरा हो ।
राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनुपर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिकोे लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ ।’
ज्ञानेन्द्रले ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ’ भनेर जे बताइयो त्यो यसप्रकारको हिंसात्मक आन्दोलनका लागि थियो भन्ने प्रस्ट हुन्छ । यस्तो आह्वान गर्दा जनताबाट साथ दिन सडकमा प्रदर्शनबाहेक अरु कुनै त्यस्तो अवसर थिएन ।
देशमा चुनाव चिलरहेको र त्यसमा उनले आफू वा अरु कसैलाई तोकेर मत मागेको बेला वा अवस्था पनि यो होइन । त्यस कारण उनको यो हामीलाई साथ दिन भन्दै गरेका आह्वान नै प्रदर्शनीका लागि थियो भन्ने कुनै माथापच्चिसी गरिराख्नु नपर्ला ।
यो दिनका मुख्य ‘कमान्डर’ले आफैँ भनेका छन्, ‘विमानस्थल र संसद् भवन कब्जा गर भनेकै हो ।’ घटनाले पनि यो कुरा पुष्टि गर्छ । संसद् भवन कब्जा गर्न निषेधित क्षेत्र तोड्न खोजिएका र विमानस्थलमा आगो लगाइएका घटना त भएकै हुन् । यी सबैपछि यसका नायक पहिचान हुन के बाँकी रहला ?