काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाको लागि पनि चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्येमा १६ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् । यस अवधिमा सानिमा, कुमारी र नेपाल बैंकले भने मुद्दती निक्षेपको ब्याजदर घटाउँदा एभरेष्ट बैंकले भने ब्याजदर बढाएको छ । सोमध्ये सानिमा बैंकले वैशाखको लागि मुद्दती निक्षेपको ब्याजदर पाँच दशमलव ९५ प्रतिशत तोकेको छ । चैत महिनामा बैंकको यस्तो ब्याजदर छ दशमलव शून्य पाँच प्रतिशत रहेको थियो । यसैगरी कुमारी बैंकले पनि वैशाख महिनाको लागि पाँच दशमलव ९२ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि चैतमा कुमारीको यस्तो ब्याजदर छ दशमलव शून्य एक प्रतिशत रहेको थियो । नेपाल बैंकले भने वैशाख महिनाको लागि पाँच दशमलव १५ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनामा नेपाल बैंकको यस्तो ब्याजदर पाँच दशमलव पाँच प्रतिशत रहेको थियो ।
यीबाहेकका बाँकी १६ वटा बैंकहरूले वैशाख महिनाको लागि चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । जसमध्ये नबिल बैंकले वैशाख महिनाको लागि व्यक्तिगत निक्षेपको ब्याज पाँच दशमलव ७५ प्रतिशत तोकेको छ । चैत महिनामा पनि नबिलको यस्तो ब्याजदर पाँच दशमलव ७५ प्रतिशत नै रहेको थियो । माछापुच्छ«े र एनआईसी एसिया बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ वैशाख महिनाको लागि चैत महिनाकै ब्याजदरलाई निरन्तता दिएका छन् । यी दुई बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः छ र छ दशमलव छ प्रतिशत रहेको छ । एनएमबी, ग्लोबल आईएमई र सिटिजन्स बैंक इन्टरनेसनलले पनि वैशाख महिनाको लागि चैत महिनाकै ब्याजदरदलाई निरन्तरता दिएका छन् । सोअनुसार वैशाख महिनाको लागि यी बैंकहरूको ब्याजदर क्रमशः छ दशमलव छ, छ दशमलव छ र पाँच दशमलव ६५ प्रतिशत तोकिएको छ । कृषि विकास बैंकले पनि वैशाख महिनाको लागि चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै पाँच दशमलव ५१ प्रतिशत ब्याजदर कायम गरेको छ । चैत महिनामा पनि यो बैंकको ब्याजदर सोही अनुपातमा रहेको थियो ।
प्राइम कमर्सियल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि व्यक्तिगत निक्षेपतर्फ वैशाख महिनाको लागि चैतकै ब्याजलाई निरन्तरता दिएका छन् । सोअनुसार यी बैंकहरूले वैशाख महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः छ दशमलव २५ र छ दशमलव पाँच प्रतिशत तोकेका छन् । नेपाल एसबीआई र सिद्धार्थ बैंकले पनि वैशाख महिनाको लागि चैत महिनाकै ब्याजदरलाई निरन्तता दिएका छन् । सोअनुसार यी बैंकको वैशाख महिनाको ब्याजदर पाँच दशमलव पाँच र छ प्रतिशत तोकिएको छ । लक्ष्मी सनराइज बैंकले पनि वैशाख महिनाको लागि चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै पाँच दशमलव ७५ प्रतिशत ब्याजदर तोक्दा हिमालयन बैंकले पनि वैशाख महिनाको लागि चैतकै ब्याजदरलाई निरन्तरता दिएर पाँच दशमलव ५० प्रतिशत तोकेको ।
वैशाख महिनाको लागि प्रभु, स्टान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकले पनि चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सोअनुसार यी बैंकहरूको वैशाख महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः छ दशमलव एक, छ दशमलव २५ र छ प्रतिशत तोकेका छन् ।