काठमाडौं । नेपालमा हालै ‘माइक्रोसफ्ट एआई स्किल्स फेस्ट नेपाल २०२५’ आयोजना गरिएको छ । चर्चित प्रविधि कम्पनी माइक्रोसफ्टले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरी आयोजना गरेको कार्यक्रममा सात सय जनाभन्दा बढीले सहभागिता जनाएका थिए ।
सो कार्यक्रम पोखरा, काठमाडौं र दाङमा गरी तीन वटा सहरहरूमा आयोजना गरिएको राष्ट्रिय आविष्कार केन्द्रका कार्यक्रम अधिकृत इन्द्र ओलीले जानकारी दिए । उनका अनुसार पोखराको पोखरा इभेन्ट सेन्टरमा आयोजित कार्यक्रममा गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा कपिल अधिकारी तथा माइक्रोसफ्ट युकेका प्रिन्सिपल इन्जिनियर हरिकृष्ण न्यौपानेले कृत्रिम बुद्धिमत्ता (एआई) का सम्भावना, चुनौती तथा जिम्मेवार एआईलगायतका विषयमा प्रस्तुति दिएका थिए । त्यस्तै, दाङको ज्ञानदीप कलेज तथा राप्ती इन्जिनियरिङ कलेजमा तथा काठमाडौंको सनवे कलेज तथा सगरमाथा कलेज अफ साइन्स एन्ड तेक्नो टेक्नोलोजीमा प्रत्यक्ष प्रशिक्षण कार्यक्रमहरू आयोजना गरिएको थियो ।
कार्यक्रममा भाग लिने सबै सहभागीहरू ५० दिनको निःशुल्क एआई सिकाइ तथा शिक्षण यात्रामा सहभागी हुन पाउनेछन् । एआई स्किल्स फेस्ट मे २८ सम्म जारी रहने जनाइएको छ । विद्यार्थी, शिक्षक, व्यवसायी, टेक पेसेवरलगायत एआईबारे जानकारी लिन चाहने जोकोहीले रोचक र चुनौतीपूर्ण तालिमहरू लिन पाउनेछन् । माइक्रोसफ्टले विश्वव्यापीरूपमा आयोजना गरेको ‘माइक्रोसफ्ट एआई स्किल्स फेस्ट २०२५’मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी सिकाइ गतिविधिहरू समावेश गरिएका थिए । माइक्रोसफ्टले ‘२४ घण्टाभित्र सबैभन्दा धेरै प्रयोगकर्ताले एआईसम्बन्धी ज्ञान लिने गिनिज वल्र्ड रेकड्र्स’को उपाधि हासिल गर्न प्रयास पनि गरिरहेको जनाएको छ । यो विश्वव्यापी उत्सवको हिस्सा बन्न माइक्रोसफ्टले संसारभरिका युवाहरूलाई आह्वान गरेको छ ।
सिकाइ यात्रामा ह्याकाथन, प्रत्यक्ष तथा भर्चुअल तालिम, आफ्नो उपयुक्त समयमा अध्ययन गर्न सकिने सामग्री, मागअनुसार तालिम, सामुदायिक कार्यक्रम, ‘माइक्रोसफ्ट लर्न च्यालेन्जेज’लगायतका थुप्रै गतिविधिहरूमा सहभागी हुन सकिने माइक्रोसफ्ट युकेका प्रिन्सिपल इन्जिनियर तथा राष्ट्रिय आविष्कार केन्द्र नेपालका सल्लाहकार हरिकृष्ण न्यौपानेले जानकारी दिए ।