काठमाडौं, साउन १५
सानिमा बैंकले डिजिटल काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त बैंकिङ सेवाहरूसञ्चालन गर्ने क्रममा यही साउन १३ गतेदेखि डिजिटल काउन्टर सञ्चालनमा ल्याएको हो । डिजिटल काउन्टरमार्फत सानिमा बैंकका ग्राहकहरूले चेकबिना नै भुक्तानी प्राप्त गर्न सक्नेछन्। यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो ई– बैंकिङ’ बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्यूआर कोड स्क्यान गरी भुक्तानी प्राप्त गर्न सकिन्छ ।
ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रियाबिना सिधै डिजिटल काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी रकम निकाल्न सकिने हुनाले यो सेवा छिटो, छरितो र सरल रहेको छ । यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समयअनुसार यो सेवामा थप सुविधाहरू समायोजन गरी विस्तार गरिने बैंकले जानकारी दिएको छ ।