काठमाडौं । भारतबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार राति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टीतेलको साबिकको बिक्रीमूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । भारतबाट नेपालले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पाउनेछ । उक्त मूल्यअनुसार आयल निगमले नेपालमा मूल्य थपघट गर्नेछ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिदमूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको हो ।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका स्थानहरू चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलमा प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा कायम भएको छ ।
दोस्रो वर्गका डिपोहरू सुर्खेत र दाङलाई एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका काठमाडौं, पोखरा र दीपायल डिपोलाई एक सय ६० रुपैयाँ मूल्य तोकिएको छ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।