काठमाडौं । नेपाल राष्ट्र बैंकले थप विशेषतासहितको पाँच रुपैयाँको नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकका अनुसार मंगलबादेखि पाँच रुपैयाँ दरको नोट प्रचलनमा ल्याइएको हो । रुपैयाँ पाँच दरको साबिककै आकार तथा रङ्गमा नं. ५०००००१ देखि ८ ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानतप्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैया ५ रुपैयाँ पाँच तुरुन्त पाइनेछ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहितको नोट प्रचलनमा ल्याइएको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार प्रचलनमा ल्याइएको नोटको अग्रभागमा नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको, नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्वर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।
यसैगरी नोटको पृष्ठभागमा नोटको मध्यभागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको, नोटको मध्यभागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको, नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा ‘रुपिज फाइभ’ लेखिएको, नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा ‘२०२४ ए.डी’ लेखिएको छ ।
यसअघि २०७७ साल मंसिर १० गतेदेखि रुपैयाँ ५ दर (सेरिज २०२०) को बैंकनोट सङ्केत नं. ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नं. प ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।