काठमाडौं । लघुवित्त पीडितहरूले आफूहरूका शान्तिपूर्ण आवाजलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा केपी ओली नेतृत्वको वर्तमान सरकारको दिनगन्ती सुरु भएको भन्दै सुनुवाई नगरे आफूहरू पनि प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।
‘सहकारी, लघुवित्त तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित कार्यक्रममा लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरूलाई कमजोरीको रूपमा नलिन चेतावनी दिए ।
ज्ञवालीले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिल्यै हारेको इतिहास नभएको बताउँदै भने, ‘आफ्नो अधिकार र न्यायका लागि मानव समाजको उत्पत्तिदेखि आजसम्म भएका कुनै पनि लडाइँमा बहुसंख्यक उत्पीडितहरू पराजित छैनन् भने हाम्रो यो न्यायिक लडाइँमा पनि शासकहरू घुँडा टेक्न बाध्य हुने निश्चित छ ।’
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटरव्याजीहरूसँग पटकपटक भएका सम्झौताहरूलाई कागजमै सीमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैरन्यायिक कार्य भएको बताए । केसीले अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए । नेसन फस्टका अध्यक्ष डा नन्द काप्रीले केपी ओली नेतृत्वको वर्तमान सरकार जनताको सरकार नभई पीडकको संरक्षक भएको आरोप लगाए । लघुवित्त, सहकारी र मिटरव्याज पीडितको वर्षौंदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन नगरेकोप्रति आक्रोश व्यक्त गर्दै डा काप्रीले भने, ‘ओलीजी जनताको न्यायको लागि भन्दै १४ वर्ष जेल बसेँ त भन्नुहुन्छ, तर उहाँको निरङ्कुश र तानाशाही शासन शैलीले उहाँ सामन्ती, भ्रष्ट, दलाल र माफियाको मसिहा पो भएको देखिन्छ ।’ आन्दोलनका संरक्षक अगस्त अधिकारीले पीडितको शान्तिपूर्ण आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिए ।
लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालका मधेश प्रदेश इन्चार्ज युवराज रसाईलीले मैथली भाषामा भने, ‘मधेशमा लघुवित्त, सहकारी र मिटरव्याजी महाजनहरूले सबैभन्दा धेरै चक्रवृत्ति व्याजमा जनतालाई लुटिरहेका छन् । अब राज्यले न्याय नदिए उनीहरूलाई गाउँगाउँबाट लखेट्छौँ ।’ कोशी प्रदेश अध्यक्ष लुजा राईले आम पीडितहरूको न्यायका लागि महिलाहरू जस्तोसुकै लडाइँ लड्न पनि तयार रहेको बताइन् । राष्ट्रिय स्वयंसेवक नेपालका अध्यक्ष मनोज पौडेलले पीडितलाई न्याय दिलाउन आफूहरू ज्यानको बाजी थापेर सडकमा उत्रेको बताए ।
शोभा पाठकले जीवी राई एउटा पात्र मात्र भएको भन्दै, सहकारी, लघुवित्त र मिटरव्याजी लुटेराहरूलाई राज्य सञ्चालकहरूले नै संरक्षण गरिरहेको आरोप लगाइन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का केन्द्रीय कोषाध्यक्ष देव कुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।