काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले चितवनको नारायणगढमा सेवा विस्तार गरेको छ । होटल सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटेल चितवन’ नामबाट सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।
सिद्धार्थ विजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले ‘प्रिमियम प्रपर्टी’मा अब प्रिमियम सेवा उपलब्ध गराउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको बताए । सोमबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले सिद्धार्थको चेन हस्पिटालिटी विस्तार र सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले यो होटल व्यवस्थापनको जिम्मेवारी लिइएको बताए । प्रकृतिमा रमाउने र प्रिमियम सेवा लिन चाहनेका लागि यो उपयुक्त गन्तव्य भएको उनको दाबी छ ।
करिब दुई बिघा जमिनमा फैलिएको होटलमा स्विट, सुपर डिलक्स र डिलक्स गरी ४४ वटा कोठा तथा माया डाइनिङ रेस्टुरेन्ट सञ्चालनमा छ । बजार नजिक तर शान्त वातावरणमा समय बिताउन चाहनेका लागि भरपर्दो होटल हुने न्यौपानेको विश्वास छ । होटलमा स्विमिङ पुलका साथै थिएटर सेटअपमा चार सय जना अट्ने क्षमताको सभाहल, करिब ५० जना अट्ने बैठक कक्ष छ । कम्पनीले हाल भएको पूर्वाधारमा थप लगानी गरी सुविधा विस्तारको योजना बनाएको जनाएको छ । सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपानेले आगामी दिनमा लगानी वृद्धि तथा होटलको स्तरोन्नति गरिने बताए ।