काठमाडौं । भारत र चीनको कब्जामा रहेको नेपालको पश्चिमी भू–भाग कालापानी लिपुलेख क्षेत्रलाई समेटेर प्रधानमन्त्री केपी ओलीले अघिल्लो कार्यकालमा जारी गरेको नेपालको चुच्चे नक्साको चुच्चो मेटाउन भित्रभित्रै तीव्र कसरत भइरहेको छ र त्यसका लागि प्रधानमन्त्री ओलीलाई स्वेच्छिक बहिर्गमनका लागि ढोका खुला गरिएको छ ।
प्रधानमन्त्री ओलीले अतिक्रमित भू–भाग समेटेर नेपालको चुच्चे नक्सा जारी गरेपछि तत्कालीन नेकपा फुटेको थियो र प्रचण्डको नेतृत्वमा माओवादी केन्द्र पुनर्गठन भएको थियो भने माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । यसअघि अदालतले तत्कालीन प्रधानमन्त्री ओलीलाई अपदस्थ गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेको थियो । त्यसयताको चुनावमा ओली नेतृत्वको एमालेलाई कमजोर बनाउने प्रयास पनि सफल भएन र त्यसपछि बनेका सत्ता चुनावी गठबन्धन र सत्ता समीकरणले पनि निकास दिन सकेन ।
ओली नेतृत्वको एमालेलाई बाहिर राखेर निकास दिन नसकिएपछि माओवादी र एकीकृत समाजवादीलाई पन्छाएर एमालेसँग कांग्रेसको सत्ता समीकरण बनाएर संविधान संशोधन तथा चुच्चे नक्साको चुच्चो मेटाउने भित्री प्रयास थालिएको थियो । अहिले त्यसैको सेरोफेरोमा रहेर ओलीलाई पार्टी र सरकारबाट बहिर्गमनको ढोका खोलिएको छ । प्रधानमन्त्रीले जारी गरेको नेपालको चुच्चे नक्सालाई अहिलेसम्म अन्तर्राष्ट्रिय समर्थन प्राप्त भएको छैन । चुच्चे नक्सामा समेटिएको अतिक्रमित नेपाली भू–भागमा विश्वपरिवेशमा महाशक्ति भारत र चीनले संयुक्त बजार बसाएर मानसरोवर यात्राको बाटो समेत खोलेपछि सानो मुलुक नेपालका प्रधानमन्त्री ओलीको कुरो अन्तर्राष्ट्रिय समुदायले सुन्दै सुनेन र त्यसलाई कसैले समर्थन गरेन । त्यसपछि मसाङ्ग्रिएका ओली के गर्ने, के नगर्ने भन्ने विषयमा अलमलमा परेका छन् ।
पछिल्लो पटक बैंककमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको गुप्तवार्तापछि उनले सँगै सुतेपछि खुट्टाले छोइयो भनेर विवाद गर्नु हुँदैन भनेर अभिव्यक्ति दिएपछि माओवादी वृत्तमा झण्डै रुवाबासी मच्चिएको थियो । तर दिन बित्दै जाँदा बैंककमा ओली–मोदी भेटमा त्यस्तो ठोस सहमति भएको आधार भेटिएको छैन । तर त्यति बेलाचाहिँ ब्रेक थ्रु भएको आत्मरतिका प्रचारबाजी पनि भएका थिए र उक्त प्रचारबाजीपछि भारतीय काखबाट आफू ओर्लिनुपर्ने त्रासदीले माओवादी वृत्तमा सन्नाटा छाएको थियो । अहिले त्यस्तो होइन रहेछ भन्ने खुल्दै जाँदा माओवादी फेरि सलबलाउन थालेको छ ।
सत्ताबाट पछारिएर रन्थनिएको माओवादी र एकीकृत समाजवादीले ओलीलाई पार्टी र सत्ताबाट हटाउन ठाउँ हेरेर अनुुकूल प्रस्ताव राख्ने गरेको छ । प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई माओवादी केन्द्रकोे पार्टी राजनीतिमा फर्काउने निर्णय गरेर आफ्नो पार्टीभित्र वर्चश्व कायम गर्न मात्र खोजेका होइनन् कि उनले पूूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको नेतृत्वमा फर्काउन ढोका पनि खोलेका छन् । त्यसो त प्रचण्डले भण्डारीलाई यसअघि नै पार्टी राजनीतिमा फर्किएर ओलीलाई विस्थापन गर्न प्रस्ताव पठाएको चर्चा चलेको थियो र भण्डारीले एमालेको नेतृत्व सम्हालेपछि विनासर्त सघाउने सन्देश पठाएको भन्ने गाइँगुइँ सुनिएको थियो । त्यस्तो ठूलो अर्को परिस्थिति सिर्जना भएन भने अब भण्डारी एमाले राजनीतिमा सक्रिय हुने लगभग सुनिश्चित नै छ । उनी भारतकै हकमा त्यति अनुकूल पात्र मानिन्नन् तर ओलीभन्दा तैबिसेक भएकाले भण्डारी प्रचण्डहरूको पनि रोजाइमा परेकी छिन् । सबै पक्षले उनलाई ऐँच्याउन सकिने निष्कर्ष निकालेर ओलीको विकल्पमा अघि सारेका छन् । यही मेसोमा प्रचण्ड र माधव नेपालहरूले त्यही शक्तिको स्वार्थमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको बीचमा खेल्ने गरेका छन् । कांग्रेसका दुई महामन्त्रीमार्फत खेल्ने प्रयास गरिरहेका छन् ।
एउटा न एउटा बामपन्थीको वैशाखी नटेकी एक्लै उभिन नसक्ने अवस्थामा पुगेको लङ्गडो कांग्रेस उसै पनि एमाले महाधिवेशनपछिको आम निर्वाचनबाट सत्ताच्यूत हुने अवस्थामा रहेको छ । प्रधानमन्त्री ओलीले जारी गरेको चुच्चे नक्सा अहिले अरु सबैका लागि मागीखाने भाँडोजस्तो भएको छ । यहाँसम्म भएको छ कि अपदस्थ राजा समेतले त्यही विवाद सल्टाउने सपना बाँडेर छिमेकी व्यवस्थापन गर्ने प्रयास गरेका छन् । भलै किन भारतले अतिक्रमण गरेको चुच्चे नक्साभित्र समेटिएको भारतलाई नै छाड्नुपर्ने र त्यसबापत नेपालले बंगालको खाडीसम्म सहजै पहँुच बनाउन सडकमार्ग पाउनुपर्ने प्रस्ताव गिरिजापुत्री सुजता कोइरालाको मुखबाट सार्वजनिक गराइएको थियो र त्यसलाई एकीकृत समाजवादीका सहमहामन्त्री मेटमणि चौधरीको मुखबाट दोह्रो¥याउन लगाइयो । काँचो गोबरजस्तो कांग्रेस पार्टीमा त सुजाताको त्यो प्रस्तावलाई त्यतिविधि महत्व नै दिइएन तर एकीकृत समाजवादीमा चौधरीलाई कारबाही गर्नुपर्ने माग जोडतोडले उठेको थियो तर अध्यक्ष माधव नेपालले कारबाहीको मागलाई बेमौसमी माग भनी ठाडै नकारेर ‘जसको सीता खाई उसैको गिता गाई’ भन्ने उखानलाई सम्झाएका थिए ।
ओलीले जारी गरेको चुच्चे नक्साको पक्षमा सदनमा सबैले मत हाले पनि ओलीलाई भित्तोसम्म पुर्याएर मरिचमानजस्तो बन(ाउनुपर्छ भन्ने प्रस्ताव लिएर भारतीय पक्षसमक्ष नपुग्ने कमै पार्टी नेता हुँदा होलान् । कांग्रेसका चारभाइले चुच्चे नक्साको पक्षमा सदनमा मत हाल्न हुँदैन भनेर पार्टी बैठकमा प्रस्तावै राखेका थिए । माओवादी अध्यक्ष प्रचण्डले त्यही चुच्चे नक्सा मेटाउने नाममा भारतीय पक्षसँग बार्गेनिङ गरिरहेका छन् । हुँदाहुँदा अपदस्थ राजा ज्ञानेन्द्रले पनि त्यही कार्ड खेलेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति भारतले अहिलेसम्म समर्थन जनाएको छैन । जब कि यसअघिको अन्तरिम संविधान उसैको समर्थनमा आएको थियो । अहिलेको संविधानमा उसको असहमति केमा हो र उसको असहमतिले के हुन्छ भन्ने कुरामा दलहरूले त्यति ध्यान दिएका छैनन् । उनीहरूले चासो नदिएपछि अपदस्थ राजा आफ्नो पुनर्वहालीका प्रस्ताव बोकेर चहार्न थालेका छन् ।
अहिलेलाई त्यही चुच्चे नक्सा हटाउने प्रस्ताव नै सबैको देखावटी प्रस्ताव बनेको छ । सबैका लागि साझा तारो पनि चुच्चे नक्सा जारी गर्ने ओली नै बनेका छन् । भोलि ओलीलाई विस्थापन गरेर गराइएपछि भण्डारीबाट उनीहरूले चाहेजस्तो हुने÷नहुने केही भर छैन तर अहिलेचाहिँ प्रत्यक्ष या परोक्षरूपमा उनी नै सबैको लागि साझा विकल्प बनेकी छन् । यही सिलसिलामा अहिले पार्टी र सरकार दुवै मोर्चामा ओलीविरुद्ध मोर्चाबन्दी गरेर स्वेच्छिक बहिर्गमनको ढोका खोलिएको हो ।