काठमाडौं । इ–सेवाका ग्राहकहरूको खातामा अनधिकृत पहुँच पुर्याएर रकम चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार कञ्चनपुर घर भई हाल काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढालाई रकम चोरी गरेको अभियोगमा पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक जिसीका अनुसार बुढाले इ–सेवा प्रयोगकर्ताहरूलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिङ्क पठाएर ‘तपाईँको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनीसहितको म्यासेज पठाएर खाताहरूमा अनधिकृतरूपमा पहुँच पुर्याउँथे । सोही पहुँचका आधारमा बुढाले इ–सेवाका चारभन्दा बढी प्रयोगकर्ताको खाताबाट एक करोड दुई लाख रुपैयाँबराबरको रकम चोरी गरेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।
प्रहरी उपरीक्षक जिसीका अनुसार चोरी गरेको रकम बुढाले पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरूमा ट्रान्सफर गर्दै आएका थिए । उनलाई मंगलबार काठमाडौंको कालिमाटीबाट पक्राउ गरिएकोमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली कार्यालयले पठाएको उनले जानकारी दिए ।