काठमाडौं । विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरूलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराई पर्यटन प्रवर्द्धन गरिएको छ । उनीहरूलाई नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक, सांस्कृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनाको प्रवर्द्धन गरिएको हो ।
परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सहयोग पुर्याएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणाको नेतृत्वमा सहभागी राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले इलामको शान्त वातावरण, पहाडी जीवनशैली, प्राकृतिक र सांस्कृतिक विविधताका बारेमा जानकारी लिएका थिए । भ्रमणले स्थानीय संस्कृति र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसामु प्रस्तुत गर्ने अवसर प्रदान गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए ।
अप्रिल १३ तारिखका दिन काठमाडौंबाट भद्रपुर विमानस्थल हुँदै इलामको यात्रा सुरु भएको थियो । भद्रपुरबाट स्थलमार्ग हुँदै कन्याम पुगेको प्रतिनिधिमण्डललाई कन्याम नगरपालिकाका प्रतिनिधिहरूले स्वागत गरेका थिए । सांस्कृतिक नृत्य, लोकसंगीत तथा आतिथ्य कार्यक्रमको मज्जा, हर्स राइडिङको विशेष अनुभव लिएर उक्त टोली श्रीअन्तुतर्फ प्रस्थान गरेको थियो । अप्रिल १४ तारिखका दिन बिहान सबेरै श्रीअन्तुबाट सूर्योदयको अनुपम दृश्यावलोकन गराइएको थियो । अन्तु पोखरीमा माछा मार्ने र डुंगा सयर गर्ने गतिविधि, चिया टिप्ने प्रतियोगिता र टी टेस्टिङ कार्यक्रम समेत आयोजना गरिएको थियो । स्थानीय उत्पादन चिज टेस्टिङ कार्यक्रम र साँझ विविध सांस्कृतिक कार्यक्रममा पाहुनाहरू सहभागी भएका थिए । उक्त प्रतिनिधिमण्डल अप्रिल १५ मा काठमाडौं फिर्ता भएको थियो । भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सहयोग पुर्याएको बोर्डले जनाएको छ ।