काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्यसम्बन्धी सबै विवरण भएको प्रणाली लागू गर्ने तयारी गरेको छ । सबै विद्युतीय चिकित्सा विवरण एउटै प्रणालीमा ल्याउन एकीकृत विद्युतीय चिकित्सा प्रणाली लागू गर्ने स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका थिए ।
मन्त्रालयले सोही प्रणालीलाई मद्दत पुग्ने गरी व्यक्तिका सबै स्वास्थ्य विवरण एकै ठाउँमा रहने गरी युनिक हेल्थ आईडी निर्माणको तयारी थालेका हो । बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले मन्त्रालयको गुणस्तरमापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माको नेतृत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेका छन् । समितिमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा, कानुन तथा फैसला कार्यान्वयन महाशाखा तथा पञ्जीकरण विभागका प्रतिनिधि छन् । यसैगरी सूचना प्रविधि परामर्शदाता इञ्जिनियर शशांकश्री न्यौपाने, स्वास्थ्य बीमा बोर्ड, विश्व स्वास्थ्य संगठन तथा नेपाल उद्योग परिसंघका प्रतिनिधि पनि समितिमा छन् । समितिको सदस्य सचिवमा मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी छन् ।
समितिलाई स्वास्थ्य पहिचान नम्बर सिर्जना गर्ने विधि, प्रक्रिया तथा अल्गोरिदम अध्ययन गरी प्रस्ताव गर्न कार्यादेश दिइएको छ । यसैगरी राष्ट्रिय परिचय पत्र, स्वास्थ्य बीमा प्रणाली तथा नेपाल सरकारबाट जारी भएका मान्यता प्राप्त परिचय पत्रसँग आवश्यक अनुसन्धान गर्न पनि भनिएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले समितिबाट प्राप्त विस्तृत सुझावसहितको प्रतिवेदन दिएपछि थप प्रक्रिया अघि बढ्नेछ । विश्वका विभिन्न देशमा हरेक व्यक्तिको अलग्गै स्वास्थ्य परिचय नम्बरको व्यवस्था गरिएको छ । यसले व्यक्तिका स्वास्थ्यसम्बन्धी सबै विवरण एकत्रित हुने र यसले उपचार तथा राज्यलाई नागरिकको स्वास्थ्य तथ्याङ्कका आधारमा कार्यक्रम र योजना तर्जुमामा मद्दत मिल्ने विज्ञहरूको भनाइ छ । समितिका सदस्य इञ्जिनियर न्यौपानेले विद्यमान विद्युतीय चिकित्सा अभिलेख कार्यान्वयन र विद्युतीय माध्यमबाट सहज स्वास्थ्य सुविधा दिन नयाँ व्यवस्था लागू हुन सके मद्दत पुग्ने बताउँछन् ।