काठमाडौं । सिंगापुरमा भएको एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका मुलुकहरूको साझा निर्माण संगठन (इफाप्का) को ४७ औँ सम्मेलनमा नेपालले अर्थपूर्ण सहभागिता जनाएको छ ।
सम्मेलनमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोली सहभागी भएको थियो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्वकर्ताको हैसियतले सम्मेलनलाई सम्बोधन गर्दै सिंहले विभिन्न प्रकारका चुनौतीका बाबजुद नेपालले जलस्रोत, सडक सञ्जाल, सिँचाइ, उड्डयन क्षेत्रलगायतमा महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको बताए । पूर्व इफाप्का अध्यक्ष समेत रहेका उनले नेपाली निर्माण व्यवसायीहरूले भौतिक पूर्वाधारको क्षेत्रमा विभिन्न कठिनाइको सामना गर्नु परिरहेको उल्लेख गरेका थिए । विश्वव्यापीरूपमा देखिएको आर्थिक मन्दीको शिकार नेपालको पूर्वाधार क्षेत्र पनि भएको जानकारी दिँदै उनले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पूर्वाधार क्षेत्रको विकास अपरिहार्य भएको बताए । साथै, निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण पनि नेपालको निर्माण उद्योगमा प्रतिकूल असर देखिएको उनको गुनासो थियो ।
कार्यक्रममा उनले निर्माण उद्योगको विकासका लागि इफाप्काजस्ता क्षेत्रीय संगठनका सदस्य राष्ट्रहरूबीचको सहकार्य जरुरी भएको अध्यक्ष सिंहले बताए । निर्माण उद्योगमा समस्या देखिएको वर्तमान अवस्थामा ‘भोलिको निर्माणलाई अंकमाल’ भन्ने नारासहित ४७औँ इफाप्का सम्मेलन सिंगापुरमा आयोजना गरिएको थियो । सम्मेलनकै अवधिमा आयोजना गरिएका इफाप्का मातहतका विभिन्न समिति बैठकमा पनि नेपालले सहभागिता जनाएको थियो । यसैबीच भव्यरूपमा ४६ औँ इफाप्का सम्मेलन सम्पन्न गरेको भन्दै नेपाललाई सम्मान गरिएको थियो । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा तत्कालीन इफाप्का अध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र तत्कालीन इफाप्का महासचिव एवं नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार वीरेन्द्रराज पाण्डेलाई सम्मान–पत्र हस्तान्तरण गरिएको थियो ।
पाँचौँपटक इफाप्का सम्मेलनमा भाग लिएबापत नेपालका अनिल सिलवाललाई पनि सो अवसरमा सम्मान गरिएको थियो । सम्मेलनमा सहभागी नेपाली टोलीले छोटो अवधिमा सिंगापुर एवं मलेसियाले भौतिक पूर्वाधारको क्षेत्रमा हासिल गरेको प्रगतिको स्थलगत अवलोकन पनि गरेको थियो । सो सम्मेलन चैत्र २५ बाट २९ गतेसम्म चलेको थियो ।