काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल नेपालको कर्णाली प्रदेशस्थित बादी समुदायका करिब एक सय ३० जना अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको ‘बादी सरोकार मञ्च नेपाल’लाई सहयोग गरेको छ । कम्पनीले सो समुदायका सदस्यहरूलाई महिना दिनभन्दा बढीलाई पुग्ने खाद्यान्न सामग्री सहयोग प्रदान गरेको छ । सहयोग कार्यक्रमअन्तर्गत कम्पनीले चामल, दाल, तेललगायत अत्यावश्यक उपभोग्य वस्तुहरू उपलब्ध गराएको छ, जसले संस्थामा आश्रित बालबालिकाहरूको पोषणमा प्रत्यक्ष सहयोग पु¥याउने अपेक्षा गरिएको कम्पनीले जानकारी दिएको छ ।
बादी समुदाय नेपालको सबैभन्दा सीमान्तकृत र ऐतिहासिकरूपमा उत्पीडित तथा अहिले पनि सामाजिक–आर्थिकरूपले कमजोर समुदायमध्ये एक हो । हिक्मत बादीद्वारा सञ्चालनमा ल्याइएको बादी सरोकार मञ्च नेपालले उक्त समुदायका महिला, बालबालिका तथा परिवारहरूलाई शिक्षा, आश्रय, स्वास्थ्य र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले गैर–नाफामूलक सामाजिक संस्थाको रूपमा कार्य गर्दै आएको छ । हाल संस्थामार्फत एक सय ३० भन्दा बढी बालबालिकालाई सुरक्षित आवास, पोषण तथा शिक्षाको सुविधा प्रदान गरिँदै आएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत श्री भूषण रिमालज्यू साथै प्रमुख व्यवसाय अधिकृत श्रीधोज बहादुर खड्काका साथमा कार्यालयका अन्य अधिकारीहरूद्वारा बादी सरोकार मञ्च नेपालका सञ्चालक श्री हिक्मत बादीलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो । कम्पनीको यो सहयोगले बादी सरोकार मञ्च नेपाललाई सञ्चालन गर्न केही मद्दत हुने अपेक्षा गरिएको संस्थाले जानकारी दिएको छ ।