तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–२ र ३ जोड्ने चिन्नेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ। यहाँ पुल नहुँदा यस भेगका जनताहरूले घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो । पुल निर्माणले यात्रा सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले बताए ।
४५ लाख ६८ हजार एक सय ९२ को लागतको पुल निर्माणका लागि गैरसरकारी संस्था समन्वय समिति तनहुँले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो । उक्त संस्थाका महासचिव राजेश्वर हड्खलेले पुल निर्माणका लागि गाउँपालिकाले पाँच लाख ९५ हजार नौ सय ८५ सहित लागत साझेदारी गरेको जानकारी दिए । त्यस्तै, स्थानीयवासीले ८९ हजार दुई सय ४२ बराबरको श्रमदान गरेका थिए । संघीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममार्फत ३८ लाख ६७ हजार सात सय ७३ विनियोजन भएको थियो ।
पुल निर्माणका लागि उपभोक्ता समितिसँग २०८१ वैशाख १६ गते सम्झौता भएको थियो । विसं २०८१ कात्तिक १५ गतेबाट पुल निर्माण सुरु गरिएको र विसं २०८२ असार १५ गतेसम्म म्याद रहेकामा म्यादअगावै पुल निर्माणको काम सकिएको हड्खलेले बताए । पुल निर्माणपश्चात् एक सय १८ घरधुरीका नौ सय ५४ जना लाभान्वित भएका छन् ।
चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति
तनहुँको भानु नगरपालिका–१२ स्थित भिसी शेरबहादुर मोटरमार्गको चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति थालिएको छ । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालयको बजेटबाट उक्त खण्ड स्तरोन्नति थालिएको हो ।
संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक करोड बजेटमा उक्त खण्डअन्तर्गत ढुङ्गेधारा घुम्तीबाट चार सय ७० मिटर कालोपत्रसहित आवश्यक संरचना निर्माण भइरहेको वडासदस्य सुदीप केसीले जानकारी दिए । त्यस्तै, सहरी विकास मन्त्रालयको एक करोड बजेटबाट चार सय ९० मिटर कालोपत्रसहित अन्य संरचना निर्माण गरिने केसीले जानकारी दिए । पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयन भएको २० लाख बजेटबाट सुरुवाती विन्दु चन्द्रावतीमा एक सय ८० घनमिटर ग्याबिन जाली र ५४ घनमिटर पक्की नाला निर्माणको काम सम्पन्न भइसकेको छ ।
भानु नगरपालिकामार्फत ठेक्का लागेको निर्माण पक्षले पटकपटक समय थप गर्दा समेत निर्माण नगरेको सुरुवाती विन्दुबाट कुडुलेसम्मको ठेक्का तोडी ७५ लाखमा करिब नौ सय ५० मिटर कालोपत्र सुरु गरिएको केसीले बताए । हाल भइरहेको चार सय ७० मिटर कालोपत्र सम्पन्न हुन केही दिन लाग्ने जनाइएको छ । निर्माण कार्य भइरहँदा माथिल्लो घलेछाप, ओख्ले, बयापानी जाने उपभोक्ताले वैकल्पिक मार्ग चन्द्रावती–अर्चले–आरबाजेमार्फत यात्रा गर्न आग्रह गरिएको छ ।