काठमाडौँ । बैंककमा सोमबारदेखि सुरु संयुक्त राष्ट्रसङ्घीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको अध्यक्षतापछि दिएको मन्तव्यमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताइन् । उनले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थति सहरीकरण पनि एक रहेको बताएकी छिन् ।
मन्त्री डा. राणाले डिजिटल डिभाइडका कारण सहरी र ग्रामीण समुदायबिचको सम्बन्धमा ठुलो खाडल पैदा भएकाले यसको सम्बोधन नगर्ने हो भने असमानता बढेर समावेशी वृद्धिलाई नै अवरुद्ध गर्ने बताइन । उनले एशिया तथा प्रशान्त क्षेत्र जलवायु–जन्य विपदको अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै हाम्रा सहर र समुदायहरू विनाशकारी बाढी, खडेरी र चरम मौसमी दुर्घटनाहरूको जोखिममा रहेको स्पष्ट पारिन ।
मन्त्री डा. राणाले आगामी मे महिनामा नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादमार्फत् जलवायु परिवर्तनको अवस्था र यसका चुनौतीको समाधानका लागि पहल गर्ने जानकारी दिइन् । नेपाल समावेशी विकास, क्षेत्रीय सहकार्य र संयुक्त राष्ट्रसंघका मूल्य मान्यताहरूप्रति सदैव प्रतिबद्ध रहेको उनको भनाइ थियो ।