काठमाडौं । ऋण प्रवाह गर्दा घुस लिएको अभियोगमा नेपाल बैंकका सञ्चालक समिति सदस्य डा. चन्द्रबहादुर अधिकारीलाई राष्ट्र बैंकले कारबाही गरेको छ । नेपाल बैंक सञ्चालक समितिका पूर्वअध्यक्ष समेत रहेका डा. चन्द्रबहादुर अधिकारीलाई नेपाल राष्ट्र बैंकले बर्खास्त गर्न नेपाल बैंकलाई पत्राचार गरेको हो ।
राष्ट्र बैंकका अनुसार ऋण प्रवाह गर्दा घुस खाने गरेको आरोपमा अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकोले बैंक तथा वित्तीय संस्था ऐन २०७३ बमोजिम पाँच लाख रुपैयाँ जरिबाना र सञ्चालक पदबाट समेत बर्खास्त गर्न नेपाल बैंकलाई पत्राचार गरेको हो । यसअघि नेपाल बैंकको सञ्चालक समितिले अधिकारीलाई अध्यक्ष पदबाट हटाएको थियो । अध्यक्षबाट हटे पनि उनी बैंकको स्वतन्त्र सञ्चालकको रूपमा कायमै थिए ।
कारबाहीमा परेका सञ्चालक डा. अधिकारीविरुद्ध अख्तियारले गत माघमा छानबिन सुरु गरेको थियो । छानबिनका क्रममा उनले आफ्ना सवारीचालकमार्फत ऋणीहरूबाट घुस लिनेगरेको खुलेको थियो । उनका सवारीचालक उमेश महर्जनको खातामा एकै पटक २५ देखि ३० लाखसम्म रुपैयाँ ऋणीहरूले जम्मा गरिदिएको पाइएपछि उनीविरुद्ध अनुसन्धान सुरु भएको थियो ।
अधिकारीलाई विसं २०८० असोज १० गते तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले सरकारी स्वामित्वको बैंकको अध्यक्ष नियुक्त गरेका थिए । त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त सहप्राध्यापक समेत रहेका अधिकारी कृषि विकास बैंकका सञ्चालक समेत रहेका थिए ।