काठमाडौं । नेपालको निर्यात व्यापारमा उल्लेखनीय सुधार भएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म नेपालबाट एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँँबराबरको वस्तु निर्यात भएको छ । जुन एक वर्षअघिको तुलनामा ६५ दशमलव १६ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म एक खर्ब १३ अर्ब ९४ करोड रुपैयाँँको निर्यात भएको थियो ।
यस वर्ष नेपालबाट भटमासको तेल सबैभन्दा धेरै ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार रुपैयाँँको निर्यात भएको छ । नेपालबाट भएको कुल निर्यातमा एक तिहाइ हिस्सा भटमास तेलको छ । नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल (क्रुड सोयाबिन आयल) आयात गरेर प्रशोधन गरी निर्यात हुनेगरेको छ ।
भटमासको तेलपछि सूर्यमुखी तेलको निर्यात सबैभन्दा धेरै भएको छ । नौ महिनामा नौ अर्ब २३ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको सूर्यमुखी तेल निर्यात भएको छ । अर्धप्रशोधित सूर्यमुखी तेल आयात गरेर प्रशोधन गरी भारत निर्यात हुनेगरेको छ ।
भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीका अनुसार दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा)को सुविधाका रूपमा नेपालका व्यवसायीहरूले खानेतेलमा एक तहको प्रशोधन र मूल्य अभिवृद्धि गरी लाभ पाएका छन् । उनले साफ्टा सुविधाअन्तर्गत भारतले नेपाललाई भन्सार छुट सुविधा उपलब्ध गराइरहेकोमा त्यसलाई नेपाली व्यवसायीले अवसरको रूपमा लिएको बताए । भारतले तेस्रो मुलुकबाट आयात गर्ने तेलमा बढी भन्सार लाग्ने तर नेपालले साफ्टा सुविधाअन्तर्गत भन्सार छुट पाउने भएका कारण सस्तो मूल्यमा तेल निर्यात गर्न सम्भव भएको हो । विगतमा पाम तेलको निर्यात सबैभन्दा बढी हुनेगरेको थियो । तर २०७७ पुसमा नेपालबाट हुने पाम तेल निर्यातमा भारतले कडाइ गरेपछि नेपालबाट भटमास र सूर्यमुखी तेलको निर्यात बढेको हो ।
नेपालले निर्यातबाट धेरै निर्यात हुने अन्य वस्तुहरूमा कार्पेट, धागो र चिया छन् । यो अवधिमा कार्पेट आठ अर्ब नौ करोड ७५ लाख ३५ हजारबराबरको निर्यात भएको छ । अलैँची छ अर्ब २६ करोड नौ लाखबराबरको निर्यात भएको छ । यसैगरी कुकुर र बिरालोको खाना, सिमेन्ट, अम्रिसो, पस्मिनालगायतका सामग्रीको निर्यात पनि भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक डा. सुमनकुमार रेग्मीका अनुसार निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरूका व्यावसायिक उत्पादन हुन नसक्दा निर्यात व्यापार बढ्न नसकेको हो । पछिल्लो समय सूचना प्रविधिको व्यापार बढ्दै जाँदा सरकारले उक्त क्षेत्रलाई ध्यान दिन नसक्दा निर्यात व्यापार वृद्धि हुन नसकेको उनको भनाइ छ ।
निर्यात व्यापरको लागि समस्याको रूपमा अन्तर्राष्ट्रिय व्यापारका लागि लगानी एवं व्यापारमैत्री वातावरणको कमी, निकासीजन्य उद्योगहरूलाई उत्पादनमूलक अन्य आर्थिक क्षेत्रहरूसँग एकीकृत गर्न नसक्नु, आपूर्तिजन्य कठिनाइहरू विद्यमान रहनु, प्रमुख निकासीजन्य वस्तुहरूको गुणस्तरमा कमी, असहज श्रम सम्बन्ध, ऊर्जा समस्याले उत्पादन लागत बढ्नु रहेको विज्ञहरू बताउँछन् । अर्कोतर्फ अन्तर्राष्ट्रिय समस्यामा अधिकांश निर्यातयोग्य वस्तुहरू आयातीत कच्चा पदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित हुन विज्ञहरूको भनाइ छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाखको वैदेशिक व्यापारमा ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाखको व्यापार घाटा भएको छ । यो अवधिको कुल वस्तु निर्यात १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाखबराबरको छ । नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ शीर्ष स्थानमा छ । पछिल्लो नौ महिनामा ९१ अर्ब २६ करोड तीन लाखबराबरको डिजेल ४७ अर्ब ७७ करोड ६४ लाखबराबरको पेट्रोल र ४६ अर्ब ५८ करोड ७० लाखबराबरको एलपी ग्यास आयात गरेको छ ।
त्यस्तै, नेपालले बढी आयात गर्ने वस्तुहरूमा पनि कच्चा (क्रुड) भटमास तेल र कच्चा सूर्यमुखी तेल पनि पर्दछन् । गत साउनदेखि चैत मसान्तसम्ममा ६६ अर्ब पाँच करोडबराबरको अर्धप्रशोधित सोयाबिन तेल र २२ अर्ब ६४ करोडबराबरको अर्धप्रशोधित सनफ्लावर तेल आयात भएको छ ।
नेपालले बढी आयात गर्ने अन्य वस्तुहरूमा फलाम तथा फलामजन्य वस्तु, स्मार्टफोन, सुन, विद्युतीय सवारीसाधनलगायत छन् । नौ महिनामा ३७ अर्ब ८९ करोडबराबरको फलाम तथा फलामजन्य वस्तु, २५ अर्ब ३८ करोडबराबरको स्मार्टफोन र १० अर्ब ९४ करोड ७९ लाखबराबरको विद्युतीय सवारीसाधन आयात भएको हो । पेट्रोलियम पदार्थको आयातको लागि पूर्णरूपमा भारतमा निर्भर रहेका छौँ भने चीनबाट विद्युतीय सामग्री, कपडा र फलफूललगायतका सामग्रीमा उच्च निर्भर रहेका छौँ । यसको अतिरिक्त यातायातका साधन र यसका पार्टपुर्जा, सिमेन्ट, फलामे छड र औषधिका आयात पनि बढेको कारण भारतसँगको व्यापारघाटा पनि बढेको निर्देशक प्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार चीनबाट नेपालमा आयात हुने सामानहरूमा भने विद्युतीय सामग्री, विद्युतीय सवारीसाधान, तयारी पोशाक, जुताचप्पल, यातायातका पार्टपुर्जा र लसुन, स्याउनलगायतका फलफूल रहेको छ जसले गर्दा चीनसँग व्यापारघाटा बढेको छ । अर्कोतर्फ नेपालबाट चिनतर्फ निर्यात हुँदै आएको प्रशोधित छाला, रुद्राक्ष, घरेलु उद्योगका सामानलगायतका वस्तुहरू भुइँचालोअघिका अवस्थामा जति पठाउन सकिएको थियो त्यति हालका वर्षहरूमा पठाउन सकिएको छैन ।