मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा गए राति मादक पदार्थ सेवन गरी बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले चारमहिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएपछि उपचारका क्रममा बालकको मृत्यु भएको जानकारी दिए ।
स्थानीयले मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा शिशुको मृत्यु भएको प्रनाउ नेपालले बताए ।
प्रहरीले २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई शिशुको हत्या अभियोगमा नियन्त्रणमा लिएको छ । स्थानीय सुकबहादुर नेपालीले आमा कमला परियार दीपेन्द्र परियारसँग केही वर्षअघि दोस्रो विवाह गरी आएको बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।