काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुलुकमा गरिबी, पछौटेपन, विभेदको अन्त्य गरी आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना भएको बताएका छन् ।
उनले कम्युनिष्ट पार्टीका नेताहरूको आदर्श र जीवनशैलीमा आएको विचलनका कारण अहिलेको राजनीतिमा विकृति र विसङ्गति देखिएको हो भनेका छन् । कम्युनिष्ट पार्टीले मुलुकमा भएका निरङ्कुशताविरुद्धको सबै आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले स्मरण गरे ।
मुलुकमा छरिएका विभिन्न वामपन्थी शक्तिहरूलाई एकठाउँमा ल्याउन भइरहेका प्रयासको सराहना गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट नेताहरू निष्ठावान् हुनुपर्ने बताए । उनले कम्युनिष्ट आदर्श तथा त्याग, तपस्या, बलिदानको भावनाले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।