काठमाडौं । होटेल सारथि प्रालि र सिटिजन्स क्यापिटल लिमिटेडबीच आईपीओ जारी गर्ने प्रक्रियाका लागि जारी तथा निर्गमन प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । होटेल सारथि, धुलिखेलमा आयोजित एक विशेष समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
होटेल सारथिले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर जारी गर्नेछ । आईपीओ जारीपश्चात् कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । यस सम्झौतासँगै होटेल सारथि आर्थिक वर्ष २०८२/८३ भित्र नेपालका पुँजी बजारमा सूचीकृत हुनेछ । यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउनेछन् ।
२०७२ सालमा स्थापना भएको होटेल सारथि सु–परिचित पर्यटकीय गन्तव्य धुलिखेलमा रहेको स्थापित लक्जरी होटेल हो । २०७६ चैत्रदेखि अपरेसनमा आएको होटलमा प्रेसिडेन्सियल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरी ८० वटा कोठा सञ्चालनमा रहेका छन् । २० जनादेखि चार सय जनासम्मको क्षमता भएको ठूला–साना गरी चार वटा सभाहल रहेको होटलको सातौँ तल्लामा ‘रुफ टप इन्फिनिटी स्विमिङ पुल विथ पुल बार’ रहेको छ । यहाँबाट लाङटाङ हिमशृङ्खला र गौरीशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न सफल यस होटल सञ्चालनको छोटो समयमा नै होलिडेज, कर्पोरेट, माइसका साथै डेस्टिनेसन वेडिङका लागि समेत आफ्नो विशेष पहिचान बनाउन सफल भएको छ । स्थानीयरूपमा उपलब्ध खाद्य सामग्रीलाई प्राथमिकता दिँदै ग्राहकको रोजाइअनुसारको मेनु पस्किँदै आएको यस होटलले स्थानीयस्तरमा रोजगारी, सिप विकास र पेसागत क्षमता वृद्धिमा समेत महत्वपूर्ण योगदान गरेको छ । सारथि समूहअन्तर्गत होटेल, मार्ट, बहुउद्देश्यीय सहकारी, वेलफेयर फाउन्डेसन, स्कुल, तालिम केन्द्र, सारथि भेन्चर्स तथा होलिडेज सञ्चालनमा रहेका छन् ।
१९ रोपनी क्षेत्रफलमा फैलिएको यस होटलमा आफ्नै अर्गानिक फार्म सञ्चालनमा रहेको छ भने रोप साइक्लिङ, स्पोर्टस सेन्टर, पिकनिक स्थल र हेलिप्याड निर्माणाधीन अवस्थामा छ । भविष्यमा आफ्नो ब्रान्डलाई अन्य प्रमुख पर्यटकीय गन्तव्यहरूमा समेत विस्तार गर्ने लक्ष्य राखेको यस समूहले चितवनको सौराहामा आफ्नो दोस्रो प्रोपर्टी सञ्चालनमा ल्याइसकेको छ ।