काठमाडौं । इलामको करफोक विद्या मन्दिरका प्रधानाध्यापक गणेशप्रसाद आचार्यलाई जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले कक्षा १२ को परीक्षाको तयारीबारे सोध्न मङ्गलवार टेलिफोन गर्दा केन्द्राध्यक्ष समेत रहेका उनी काठमाण्डूको शिक्षक आन्दोलनमा थिए।
विद्यालय शिक्षा ऐन माग गर्दै आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षामा सहभागी नहुने घोषणा गरेपछि बिहीवारबाट सुरु हुने तय भएको विद्यालय तहको अन्तिम परीक्षा समयमै हुनेमा आशङ्का व्यक्त गरिएका छन्।
तर मङ्गलवार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि निर्धारित समयमै परीक्षा हुने भन्दै बोर्डले परीक्षा केन्द्र रहेका विद्यालयहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिइरहेको छ।आन्दोलनरत शिक्षकहरूले दुई सातासम्मका लागि कक्षा १२ को परीक्षा सार्न सुझाव दिएको आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुली बताउँछिन्।"केही निकास आउला, हामी पनि विद्यालय फर्कन्छौँ, अनि परीक्षा लिऔँला। यो गर्दा राष्ट्रिय क्यालेन्डर पनि परिवर्तन गर्न जरुरी छैन भनेर हाम्रो परीक्षा बोर्डसँग कुरा भइरहेको थियो," पराजुली भन्छिन्।सम्भवतः त्यसै कारण आचार्य भन्छन्, "म शिक्षक आन्दोलनमै छु। हाम्रो माग सम्बोधन नभएसम्म म फर्कनेवाला पनि छैन। हाम्रो केन्द्रमा परीक्षा हुँदैन भनिदिएको छु।"
तयारीको अभाव
परीक्षा सुरु हुन एक दिन मात्रै बाँकी रहँदा पनि करिब १,६०० परीक्षा केन्द्रका अधिकांश केन्द्राध्यक्षहरूलाई परीक्षा बोर्डले अभिमुखीकरण तालिम दिएको छैन। राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूका अनुसार परीक्षा केन्द्र रहेका शैक्षिक संस्थाका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ।तर आचार्यजस्तै कैयौँ विद्यालयका प्रधानाध्यापकहरू शिक्षक आन्दोलनका लागि काठमाण्डू आएका कारण राष्ट्रिय परीक्षा बोर्ड प्राविधिक र नैतिक समस्यामा परेको छ।
कतिपय परीक्षा केन्द्रमा शिक्षकहरूले विद्यालयको तालासमेत नखोल्ने चुनौती आन्दोलनरत शिक्षकहरूले दिएका छन्।"ठिक छ, परीक्षा बोर्डले हामीबिनै परीक्षा चलाउनुहुन्छ र कापी पनि जाँच गर्नुहुन्छ भने उहाँहरूको कुरा, तर हामीले आन्दोलनकै मैदानबाट कोही शिक्षक, कर्मचारी, सहयोगी भूमिकामा रहँदैनौँ भनेका छौँ," पराजुली भन्छिन्।प्रश्नपत्र पठाउन प्राविधिक चुनौतीराष्ट्रिय परीक्षा बोर्डका अनुसार त्यही दिन परीक्षा केन्द्रमा प्रश्नपत्र उपलब्ध गराइने भएका कारण केन्द्राध्यक्ष अर्थात् विद्यालयका प्रधानाध्यापकको मोबाइलमा प्राप्त हुने 'ओटीपी'का आधारमा मात्रै प्रश्नपत्र डाउनलोड गर्न मिल्छ।
"'प्रश्नपत्र डाउनलोड'मा क्लिक गरेपश्चात् 'ओटीपी प्राप्त गर्नुहोस्' क्लिक गर्दा केन्द्राध्यक्षको मोबाईलमा ओटीपी प्राप्त हुने र सो ओटीपी 'इन्ट्री' गरेपश्चात् मात्र प्रश्नपत्र डाउनलोड गर्न सकिने गरी व्यवस्था मिलाइएको" परीक्षा बोर्डले यसअघि जारी गरेको सूचनामा उल्लेख छ।
आन्दोलनरत प्रधानाध्यापक परीक्षा सञ्चालनका लागि तयार नभए जिल्ला समन्वय समितिले अर्को व्यक्ति वा सरकारी कर्मचारीलाई पनि तोक्न सक्ने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा बताउँछन्।"हामीले प्रश्नपत्र प्रणालीबाट पठाउने हो। त्यहाँ खटिने कर्मचारीलाई उपलब्ध गराउँछौँ," शर्मा भन्छन्।
"राज्यका सबै निकाय लागे भने परीक्षा चल्न सक्छ। केन्द्राध्यक्ष जिल्लाबाट तोकिए भने अनलाइन माध्यमबाट पनि अभिमुखीकरण दिन सकिन्छ।"कतिपय विद्यालयका परीक्षार्थीहरूको प्रवेशपत्र समेत नपुगेका कारण बिहीवारबाट परीक्षा सञ्चालन गर्न चुनौती हुने आन्दोलनरत शिक्षकहरूको भनाइ छ।
तर परीक्षा नियन्त्रक शर्मा त्यसका लागि पनि बोर्डले अस्थायी व्यवस्थापन गर्नसक्ने बताउँछन्। "विद्यालयहरूले प्रवेशपत्र उपलब्ध गराएनन् भने त्यसका विकल्पमा हामी सिम्बोल नम्बर र विषयसहितको 'ट्रिप्लिकेट' उपलब्ध गराएर भए पनि परीक्षा गराउन सकिन्छ," शर्मा भन्छन्।
परीक्षा निरीक्षकको व्यवस्थापन
परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका लागि नेपालभरि १,५९० वटा र जापानमा एउटा परीक्षा केन्द्र तोकेको छ। शिक्षकहरू सहभागी नभएको अवस्थामा परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष सहित परीक्षा निरीक्षकहरूको व्यवस्थापनका लागि बोर्डलाई चुनौती छ।
शर्माका अनुसार शिक्षकहरूको सट्टा यसअघि लोकसेवा परीक्षा सञ्चालनको अनुभव भएका सरकारी कर्मचारीलाई केन्द्राध्यक्ष र निरीक्षक तोकेर भए पनि कक्षा १२ को परीक्षा चलाउने तयारीमा परीक्षा बोर्ड छ।तर बोर्डले शिक्षकहरूको सहयोगका लागि अन्तिमसम्म पनि पहल गर्ने उनले बताए।
"उहाँहरूले वर्षभरि मेहनत गरेर पढाउनुभएको विद्यार्थी हो। हामीले त मूल्याङ्कन मात्रै गर्ने हो। अन्तिम घडीमा उहाँहरूले सहयोग गर्नुहुन्छ नै भन्ने हाम्रो अपेक्षा छ," शर्मा भन्छन्। तर शिक्षकहरूले विद्यालय नै नखोल्ने अवस्था बनाए जिल्ला प्रशासन कार्यालय र परीक्षासम्बन्धी जिल्लास्तरका सरकारी निकायहरूले त्यसको समाधान गर्ने परीक्षा बोर्डको दाबी छ।महासङ्घको निर्णयविपरीत परीक्षामा सहभागी हुने शिक्षकहरूलाई पनि सहज नहुने सहअध्यक्ष पराजुली बताउँछिन्।
"हामीले विद्यालयमा बाँकी रहनुभएका साथीहरूलाई पनि काठमाण्डू बोलाएका छौँ। पेसागत हकहितको काम गर्ने छाता सङ्गठन विरुद्ध जान उहाँहरूलाई पनि सहज छैन," उनी भन्छिन्।शिक्षामन्त्रीको राजीनामाशिक्षक आन्दोलन र कक्षा १२ को परीक्षाको अन्योलबीच शिक्षामन्त्री विद्या भट्टराईले सोमवार राजीनामा दिएपछि आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सक्ने ठानिएको विद्यालय शिक्षा विधेयकबारे संसद्मा जारी छलफल प्रभावित भएको छ।
संसदीय समितिले शिक्षामन्त्रीसमेतलाई बोलाएर विधेयकमा दर्ता भएका १७०० बढी संशोधनबारे छलफल गरिरहेको थियो।तर मन्त्री भट्टराईले शिक्षक आन्दोलन चलिरहेकै समयमा स्वास्थ्यको कारण देखाउँदै सोमवार राजीनामा दिएपछि त्यसको असर कक्षा १२ को परीक्षाबारे लिइने निर्णयमा पनि देखिएको अधिकारीहरू बताउँछन्।(बीबीसी)