काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बेग्लै वार्ड सञ्चालनमा ल्याइने भएको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार अब वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि केन्द्रले बेग्लै निःशुल्क ओपीडी वार्ड स्थापना गर्न लागेको हो । वैदेशिक रोजगारीबाट फर्केका जोकोहीले केन्द्रमा गएर निःशुल्क परीक्षण गराउन सक्ने उनले बताए । हालै संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरूको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने घोषणा गरेका थिए । सोहीअनुसार विदेशिएका श्रमिकलाई स्वदेशमा फर्किँदा तथा त्यहीँ रहँदा परेका स्वास्थ्य समस्या समाधानका लागि अघि केन्द्रले काम थाल्ने निर्णय गरेको हो ।
यसैगरी केन्द्रले वैदेशिक रोजगारीमा जानेका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने अभिमुखीकरण तालिममा नसर्ने रोगसम्बन्धी जानकारी र बच्न अपाउन सकिने उपायबारे जानकारीका लागि विज्ञ चिकित्सक खटाउने भएको छ ।