काठमाडौँ । काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलाप्रति दुःख व्यक्त गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सो क्रुर हमलाबाट आफू अत्यन्त दुःखी र मर्माहत भएको बताएकी छिन् ।
उनले यस दुःखद घडीमा भारत सरकार र भारतीय जनतासँग नेपाल दृढ एकताका साथ उभिएको बताउदै यो कठिन समयमा पीडित र उनीहरुका परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।
सो अमानवीय कार्यको कडा शब्दमा निन्दा गर्दै मन्त्री डा. राणाले यस दर्दनाक घटनामा नेपाली समेत परेको भन्ने बारेमा समाचार आएकाले यस विषयमा अनुसन्धान भइरहेको र थप विवरण प्राप्त भएपछि जानकारी गराइने बताइन् ।
मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको र अन्य १० जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ ।