काठमाडौं । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल भएको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ चैत्र मसान्त सम्म कोष लागत प्रतिशत पाँच दशमलव चार प्रतिशत रहेको छ । पछिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकको कोष लागत प्रतिशत सात दशमलव ६२ प्रतिशत रहेको थियो । कोष लागत प्रतिशत कम हुँदा सोको सकरात्मक असर आधार दरमा समेत परेको छ जसअनुसार बैंकको आधार दर चैत्र मसान्त सम्म सात दशमलव १४ प्रतिशत रहेको छ जुन प्राय बैंकहरू भन्दा कम रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरूले लिन सक्छन् ।
त्यसै गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनत्तम पुँजी कोषका्े तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनत्तम पुँजी कोष आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्त सम्म १५ दशमलव ७५ प्रतिशत रहेको छ जुन आर्थिक वर्ष २०८०/८१ चैत्र मसान्तमा १२ दशमलव ७५ प्रतिशत रहेको थियो । न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरूलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी बैंक पुँजीको हिसाबले सबल रहेको र आगामी दिनहरूमा व्यवसाय विस्तार गर्नलाई समेत पुँजीको अभाव नरहने देखिन्छ ।
हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ भने आगामी दिनहरूमा बैंकले आफ्ना वित्तीय सेवाहरूलाई थप प्रविधिमैत्री बनाउँदै जाने समेत बैंकले जनाएको छ ।