काठमाडौं । राजधानीको भृकृटीमण्डपमा दशौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, व्यापार तथा निकासी पवद्र्धन केन्द्र (टीइपीसी) तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा वैशाख २५ देखि २९ गतेसम्म मेला हुने भएको हो ।
महासंघले मंगलबार महासंघ सचिवालय टेकुमा पत्रकार सम्मेलन आयोजना गरी व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान र बंगलादेशका स्टलहरू सहभागी हुनेछन् भने र थाइल्यान्डको सहभागिता रहनेछ । पत्रकार सम्मेलनमा महासंघ उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाले नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न मेलाले सघाउ पु¥याउने बताए । उनले स्वदेशी तथा विदेशी गरी कुल दुई सय ५० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने जानकारी दिए । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।
यस्तै, अर्का उपाध्यक्ष हेमराज ढकालले मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरूको पेभेलियन रहने जानकारी जानकारी दिए । मेलामा मेड इन नेपाल सो, हस्तकला उत्पादनहरू, वस्तुगत संघहरूका उत्पादनहरू साथै चारपाङ्ग्रे र दुईपाङ्ग्रे विद्युतीय गाडी (ईभी) गाडीहरू समेत रहनेछन् । महासंघका केन्दीय सदस्य तथा व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने जानकारी दिए । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँगं भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल समेत हुने उनले बताए ।
व्यापार तथा निकासी पवद्र्धन केन्द्र (टीइपीसी) का वरिष्ठ अधिकृत मीनबहादुर कुँवरले नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजारीकरणका लागि मेला फलदायी हुने बताए । मेलामा चीनबाट पावर ट्रान्समिसन इक्युपमेन्ट, इलेक्टिकल्स तथा अटो मोबाइल्स, फुड एन्ड वेभरेज, मिलक प्रडक्ट, किचन वेयर, गार्मेन्ट्स, समर्टवाच, बंगलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गामेन्ट्स स्टलहरू रहनेछन् । मेलाको मुख्य प्रायोजकका रूपमा आईएमई पे तथा स्पोन्सरका रूपमा हेरिटेज कार्पेट रहेको छ ।