काठमाडौं । घरजग्गा कारोबारमा सुधार देखिएको छ । विगत दुई वर्षयता खुम्चिएको घरजग्गा कर्जा अहिले केही बढ्नुले कारोबारमा सुधार आएको अनुमान गर्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८१ फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले घरजग्गाा क्षेत्रमा दुई खर्ब ७९ अर्ब १८ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा ३१ अर्ब चार करोड रुपैयाँ बढी हो । २०८० फागुनसम्म बैंक वित्त संस्थाले घरजग्गा क्षेत्रमा दुई खर्ब ४८ अर्ब १३ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
२०८१ फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ६७ खर्ब ६९ अर्ब २७ करोड २० लाख रुपैयाँ र कर्जा प्रवाह ५४ खर्ब ५५ अर्ब ९७ करोड २० लाख रुपैयाँ छ । एक वर्षअघि २०८० फागुनमा निक्षेप सङ्कलन ६१ खर्ब ८७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ र कर्जा प्रवाह एवं ५० खर्ब ८४ अर्ब ९३ करोड ३० लाख रुपैयाँ थियो ।
वाणिज्य बैंकहरूले मात्रै २०८१ फागुन मसान्तसम्म ६० खर्ब ४१ अर्ब २१ करोड ५० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४८ खर्ब ४० अर्ब छ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अवधिमा वाणिज्य बैंकहरूले घरजग्गा क्षेत्रमा प्रवाह गरेको कुल कर्जा दुई खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ छ । जुन एक वर्षअघिको तुलनामा २१ अर्ब ५१ करोड ९० लख रुपैयाँ धेरै हो । २०८० फागुनसम्म घरजग्गा क्षेत्रमा वाणिज्य बैंकहरूले दुई खर्ब १३ अर्ब ४२ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले २०८१ फागुनसम्म छ खर्ब दुई अर्ब पाँच करोड २० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी पाँच खर्ब १४ अर्ब २६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यस्तै, घरजग्गामा ३२ अर्ब ७७ करोड ८० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । एक वर्षअघि विकास बैंकहरूले घरजग्गामा २४ अर्ब ९० करोड ८० लाख रुपैयाँ ऋण लगानी गरेका थिए ।
फाइनान्स कम्पनीहरूले भने चालू आर्थिक वर्षको फागुन मसान्तसम्म एक खर्ब २६ अर्ब ५० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी एक खर्ब एक अर्ब ६४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये घरजग्गा क्षेत्रमा ११ अर्ब ४६ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा एक अर्ब ६५ करोडले धेरै हो । एक वर्षअघि २०८० फागुनसम्म फाइनान्स कम्पनीहरूले घरजग्गामा नौ अर्ब ८१ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।