तनहुँ । गैरसरकारी संस्था महासङ्घले लोकतन्त्र दिवसको अवसरमा बिहीबार दमौलीमा गरेको कार्यक्रमका वक्ताहरुले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकामा जोड दिएका छन् । सो अवसरमा लोकतन्त्र नै सर्वोत्कृष्ट शासन व्यवस्था भएको बताउँदै व्यास नगरपालिका नगरसभा सदस्य सुरेश वाग्लेले अन्य विकल्पको खाजी हुनुहुँदैन भने ।
नागरिकको हकअधिकार स्थापित गर्न लोकतन्त्र सुन्दर पक्ष भएको लायन्स क्लब अफ तनहुँका पूर्वअध्यक्ष कृष्णहरि गैरेले बताए । शिक्षक सङ्घका पूर्वअध्यक्ष कमलभक्त पोखरेलले समाजमा लोकतन्त्र रक्षाको लागि नेताहरु जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
लोकतन्त्रको रक्षाका लागि तीनवटै तहका सरकारले प्रभावकारी काम गर्न आवश्यक रहेको बाल अधिकारकर्मी सुशीला शर्मा, अधिकारकर्मी सरिता थापा भण्डारी र गैरसरकारी संस्था महासङ्घकी अध्यक्ष सरलादेवी श्रेष्ठलगायत वक्ताले बताए ।
तत्कालीन राजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई नै फिर्ता’ गरेको स्मरणमा २०६४ सालदेखि हरेक वर्ष लोकतन्त्र दिवस मनाउन प्रारम्भ भएको हो ।