काठमाडौँ । २०७२ सालमा गएको भूकम्पको सम्झनामा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताएका छन् ।
आजको दिन विगतका दुःख स्मरण गर्नुका साथै आगामी दिनमा यस्तो पीडाबाट सुरक्षित हुन्छौँ भन्ने प्रतिवद्धता पनि व्यक्त गर्ने दिन रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले प्रकृति नियमले र मानिस नियतले चल्ने भएकाले मानिसको नियतका कारण प्रकृतिको नियम बिगार्न नहुने बताए ।
विगतका पीडाले, विगतका दुःखले आगामी दिनमा ती दुःख न्यूनीकरण गर्न तयारी अवस्थामा बस्न जरुरी रहेको उल्लेख गर्दै लेखकले केन्द्र, प्रदेश, स्थानीय तह सबै सरकारले मिलेर विपद्को न्यूनीकरण गर्न जरुरी रहेको बताए । उनले नागरिकहरू कुनै न कुनै हिसाबले सरकारसँग जोडिने भएकाले सबै मिलेर विपद्बाट जोगिनका लागि काम गर्नुपर्ने सुझाव दिए ।