काठमाडौं । सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकको सबै सूचकमा उल्लेख्य प्रगति देखिएको छ । बैंकले चालु आवको नौ महिनाको अवधिमा सात करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खुद नोक्सानी पाँच करोड ४० लाख रुपैयाँ रहेको थियो ।
दोस्रो त्रैमासिक अवधिमा आठ दशमलव २२ प्रतिशत रहेको पुँजीकोष अनुपात तेस्रो त्रैमासिक अवधिमा उल्लेख्य रुपमा सुधार भई ११ दशमलव ४९ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात १० प्रतिशतभन्दा कम भएकाले शीघ्र सुधारात्मक कारबाहीमा परेको बैंकले पुँजीकोषमा सुधार भएपछि उक्त कारबाहीबाट हट्ने विश्वास लिएको बताएको छ । चैत्र मसान्तमा बैंकको प्रति सेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा, निष्क्रिय कर्जाको अनुपात आठ दशमलव ६४ प्रतिशत, तरलता अनुपात ३६ दशमलव ३६ प्रतिशत र नेटवर्थ प्रतिसेयर ७८ रुपैयाँ ८९ पैसा रहेको छ ।
हालै मात्र बैंकले विगत दुई आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको थियो भने नेपाल राष्ट्र बैंकले प्रादेशिकस्तरको विकास बैंकका लागि तोकेको न्यूनतम चुक्ता पुँजी एक अर्ब २० करोड पुर्याउन हाल कायम रहेको चुक्ता पुँजीको एक सय १६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गरिसकेको जनाएको छ । सिन्धु विकास बैंक सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन गरी पाँच जिल्लामा कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको विकास बैंक हो । बैंकले हाल २६ वटा शाखा कार्यालयमार्फत आफ्नो सेवा दिइरहेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा गत पुस महिनादेखि वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा रहेका छन् ।