काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेतस्थित अल मुजैनी एक्सचेन्जसँग सहकार्य गरी विधिवतरूपमा रेमिटेन्स सेवा सुरुवात गरेको हो । बैंकले यही वैशाख ११ गते बिहीबारका दिन कुवेतस्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमको आयोजना गरी अल मुजैनी एक्सचेन्जसँग औपचारिकरूपमा सम्झौता–पत्रमा हस्ताक्षर गरेको हो ।
माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीको समुपस्थिति सम्पन्न उक्त औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेतस्थित अल मुजैनी एक्सचेन्जका महाप्रबन्धक हग फरनान्डेजले सम्झौता एकआपसमा हस्तान्तरण गरेका हुन् । कुवेतस्थित नेपाली राजदूतावासका लागि कार्यवाहक राजदूत श्रीमती सुजनी राणाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त औपचारिक कार्यक्रममा गैर–आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामालगायत गैर–आवासीय संघका प्रतिनिधिहरू, कुवेतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू एवं पत्रकारलगायत कुवेतमा कार्यरत थुप्रै नेपालीको पनि उपस्थिति रहेको थियो ।
सोही कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनिक गरेको थियो । बैंकका पूर्वसञ्चालक हरिभक्त सिग्देलले रचना गर्नुभएको उक्त कभर गीत बैंकका सञ्चालक समितिका अध्यक्ष केसीले एवं कुवेतस्थित नेपाली राजदूतावासका लागि कार्यवाहक राजदूत सुजनी राणाले संयुक्तरूपमा सार्वजनिक गरेका थिए । सार्वजनिक गरिएपश्चात उक्त गीत बैंकले आफ्ना सम्पूर्ण सामाजिक सञ्जालहरूमा प्रसारण/प्रकाशन गर्नेछ ।
माछापुच्छ्रे बैंकले कुवेतमा उक्त सेवा सुरुवात गरेपश्चात अब कुवेतमा रहेका नेपालीहरूले कुवेतस्थित अलमुजैनी एक्सचेन्जका एक सय ४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका एक सय ६५ वटा शाखाहरू, ९९ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिनेछ । साथै, बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना एक सय ६५ वटा शाखाहरू, ९९ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा दुई सय ७५ स्थानमा रहेका सेवा सञ्जाल तथा दुई सय चार वटा एटीएममार्फत १७ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुविधा प्रदान गर्दै आएको छ ।