काठमाडौँ । विपन्न वर्गमा जाने कर्जा बैंक तथा वित्तीय संस्थाले घटाउँदै लगेका छन् । राष्ट्र बैंकले आर्थिकरूपमा कमजोर भएका जनताको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यसहित विपन्न वर्गसम्बन्धी कर्जालाई प्राथमिकता दिएको थियो । पछिल्लो समय विपन्न वर्गमा गएकोे कर्जा निष्क्रिय हुँदै गएपछि बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह कम गर्दै लगेका छन् ।
२०८२ फागुनसम्म बैंक तथा वित्तीय संस्थाले ५४ खर्ब ५५ अर्ब ८७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये औसत चार दशमलव ९२ प्रतिशत निष्क्रिय कर्जा छ । सो अवधिसम्म बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको पाँच दशमलव ९३ प्रतिशत अर्थात् दुई खर्ब ८७ अर्ब ६२ करोड ६० लाख रुपैयाँ विपन्न वर्गमा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा शून्य दशमलव ८७ प्रतिशत विन्दु अर्थात् २३ अर्ब ६८ करोड ४० लाख रुपैयाँले कम हो । २०८१ फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा तीन खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । जुन कुल कर्जाको छ दशमलव ८० प्रतिशत थियो ।
२०८२ फागुन मसान्तसम्म वाणिज्य बैंकहरूले मात्रै ४८ खर्ब ४० अर्ब छ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय छ । कुल कर्जामध्ये पाँच दशमलव ७४ प्रतिशत अर्थात् दुई खर्ब ४६ अर्ब ६३ करोड रुपैयाँ विपन्न वर्गमा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा शून्य दशमलव ५८ प्रतिशत विन्दु अर्थात् १६ अर्ब ५५ करोड ५० लाख रुपैयाँले कम हो । २०८१ फागुन मसान्तसम्म वाणिज्य बैंकहरूले विपन्न वर्गमा दुई खर्ब ६३ अर्ब १८ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन कुल कर्जा प्रवाहको छ दशमलव ३२ प्रतिशत थियो ।
विकास बैंकहरूले २०८१ फागुन मसान्तसम्म पाँच खर्ब १४ अर्ब २६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ११ प्रतिशत निष्क्रिय कर्जा छ । सो अवधिसम्म विकास बैंकहरूले सात दशमलव ४७ प्रतिशत अर्थात् ३६ अर्ब ५४ करोड रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा तीन दशमलव ७१ प्रतिशत विन्दु अर्थात् पाँच अर्ब २६ करोड ९० लाख रुपैयाँ कम हो । २०८१ फागुन मसान्तसम्म विकास बैंकहरूले ४१ अर्ब ८० करोड ९० लाख रुपैयाँ विपन्न वर्गमा कर्जा लगानी गरेका थिए । जुन कुल कर्जाको ११ दशमलव १८ प्रतिशत थियो ।
फाइनान्स कम्पनीहरूले २०८२ फागुन महिनासम्म एक खर्ब एक अर्ब ६४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा १२ दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय छ । यस अवधिमा फाइनान्स कम्पनीहरूले सात दशमलव पाँच प्रतिशत अर्थात् चार अर्ब ४५ करोड ६० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । एक वर्षअघिको तुलनामा शून्य दशमलव शून्य तीन प्रतिशत विन्दु अर्थात् एक अर्ब १८ करोड ६० लाख रुपैयाँ कम हो । जुन २०८१ फागुनसम्म फाइनान्स कम्पनीहरूले छ अर्ब ३१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन कुल कर्जाको सात दशमलव छ प्रतिशत हो ।