अदानचुली (हुम्ला) । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि पुनः सञ्चालनमा आएको छ । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो ।
“तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ”, कार्यालय प्रमुख जैसीले बताए ।
कार्यालय प्रमुखका अनुसार सदरमुकामबाट यारी नाका भन्सार कार्यालय जानका लागि नारा लेख काटेर जानुपर्ने हुन्छ । उक्त सडकखण्ड हिमपात हुने समयमा पूर्ण रुपमा बन्द हुन्छ । नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने अपेक्षा गरिएको छ । यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः सुरु हुनेछ ।