काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले काठमाडौँमा प्रदर्शनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा झडपको अवस्था आउनु दुःखद् पक्ष हो भन्दै शिक्षकहरूमाथि गरिएको अभद्र व्यवहार रोकिनुपर्ने धारणा राखे ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आइतबार प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेर दर्जनौँ शिक्षकहरू घाइते भएको घटनाप्रति घोर भत्र्सना गर्दै राज्यले ऐन बनाएर शिक्षकको जायज माग पूरा गर्नुपर्नेमा जोड दिए । उनले विगतमा सरकार र शिक्षकहरूबीच भएको सम्झौता कार्यान्वयन गर्न पनि माग गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले पत्रकारमाथि भएको आक्रमणको निन्दा गर्दै शिक्षकहरूको न्यायोचित माग तत्काल पूरा गर्न सरकारसमक्ष माग गरीन । शिक्षकहरूको विरोध प्रदर्शनले बालबालिका विद्यालय शिक्षा पाउनबाट वञ्चित रहेको भन्दै चाँडो शिक्षकहरूलाई विद्यालय फिर्ता पठाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराइन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले शिक्षक आन्दोलनका क्रममा पत्रकारमाथि आक्रमण भएको निन्दा व्यक्त गर्दै शिक्षकमाथि भएको दमन, पानीको फोहोरा र कुटपिटजन्य घटना दुःखद रहेको बताए । उनले शिक्षकको माग यथाशीघ्र पूरा गर्न सरकारसमक्ष माग गरे ।
नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले शिक्षक आन्दोलनका क्रममा आइतबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रहरी र शिक्षक दुवै राष्ट्रसेवक भएकोहुँदा यस्ता घटना दोहोरिन नदिन सरकारसमक्ष माग गरे । उनले जुनसुकै पक्षबाट भएको दमन राम्रो नभएको भन्दै शिक्षकहरूलाई संयमित भएको आफ्ना घोषित कार्यक्रम अगाडि बढाउन र सुरक्षाकर्मीलाई पनि संयमित भएर प्रस्तुत हुन ध्यानाकर्षण गराए । उनले विद्यालय शिक्षा ऐनको प्रगतिबारे संसद्लाई शिक्षामन्त्रीले जानकारी गराउन माग गरे ।
आम जनता पार्टीका सांसद प्रभु साहले गएरातिको हावाहुरीसहितको असिनापानीले मधेस प्रदेशको बारा, रौतहतलगायत जिल्लामा मकैबाली, आँपलगायत उत्पादन नष्ट भएको, बिजुलीका पोल ढलेर विद्युत् र सञ्चार प्रभावित भएको भन्दै पीडित किसानलाई राहत र अवरूद्ध सेवा चाँडो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद रणेन्द्र बरालीले शिक्षकको माग सम्बोधन गर्न तथा दलितमाथि भइरहेको भेदभावजन्य घटनाको अन्त्य गर्न माग गरे । सांसद कान्तिका सेजुवालले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा घाइते शिक्षक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिन । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सर्लाहीको बसबरियास्थित विद्यालयको व्यवस्थापकीय सुधारमा ध्यान दिन आग्रह गरे ।