काठमाडौं । चीनको राजधानी बेइजिङमा नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले बेइजिङमा आयोजित १८औँ ‘चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम–२०२५)’ मार्फत नेपालका पर्यटकीय गन्तव्यहरु प्रस्तुत गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह गरिएको हो ।
अप्रिल २४ देखि २६ सम्म नेसनल एग्रिकल्चरल एक्जिबिसन हलमा आयोजना भएको तीनदिने प्रदर्शनीमा करिब ५० देशका पर्यटन प्रतिनिधिहरू सहभागी थिए । नेपालले हिमशृंखला, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका अवसरलाई संगठित ढङ्गले चिनियाँ बजारमा प्रस्तुत गरेको बोर्डले जनाएको छ । बोर्डले चिनियाँ पर्यटकहरूका लागि नेपाललाई थप आकर्षक गन्तव्यका रूपमा उजागर गर्ने उद्देश्यले नेपालका गन्तव्य प्रदर्शन गरिएको उल्लेख गरेको छ । कार्यक्रममा नेपालका लागि चीनस्थित नेपाली राजदूत डा कृष्णप्रसाद ओली, प्रथम सचिव मनहरी दंगाल र छेन्दुस्थित उप–महावाणिज्यदूत चिनामन सिंह बुढाथोकीले नेपालको स्टल अवलोकन गरेका थिए । उनीहरुले चिनियाँ पर्यटन व्यवसायीसँग भेटघाट गर्दै पर्यटन प्रवर्द्धन तथा आपसी सहकार्य विस्तारका विषयमा छलफल समेत गर्नुभएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।
नेपालको स्टलमा परम्परागत वास्तुकला, सांस्कृतिक सम्पदा, जैविक विविधता र हिमाली दृश्यहरूलाई सु–सज्जित गरी प्रदर्शन गरिएको थियो । साहसिक पर्यटन, प्राकृतिक भ्रमण र सांस्कृतिक अनुभवहरूका सम्भावनाहरूलाई विशेषरूपमा उजागर गरिएको थियो । यसका साथै नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच अन्तर्क्रिया हुँदै भविष्यमा सहकार्यका नयाँ सम्भावनाहरूका विषयमा छलफल गरिएको थियो ।