काठमाडौं । भू–उपग्रह (स्याटेलाइट) प्रविधिको प्रयोग गरी नेपालको कृषिक्षेत्र पहिचान गरिने भएको छ । मैदा उद्योग संघ र भारतको कृषि सूचना तथा परामर्श सेवा प्रदायक संस्था एग्रीवाचबीच सो कार्यका लागि सहकार्य गर्ने सम्झौता भएको हो ।
सम्झौताअनुसार भू–उपग्रह (स्याटेलाइट) प्रविधिको प्रयोग गरी नेपालको कृषिक्षेत्र पहिचान, विश्लेषण र परामर्श प्रदान गरिनेछ । निजी क्षेत्रबाट यस प्रकारको पहल पहिलोपटक भएको हो । नेपाल मैदा उद्योग संघको २४औं वार्षिक साधारणसभाका अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा हालै उक्त सम्झौता भएको हो ।
सो सम्झौताअनुसार एग्रीवाचसँगको सहकार्यबाट नेपालले कृषि बजार मूल्य संकलन, दैनिक, साप्ताहिक र मासिक बजार विश्लेषणजस्ता सेवा पाउनेछ । यसबाट कृषक र व्यापारीलाई सही निर्णय लिन सहयोग पुग्ने विश्वास गरिएको छ । यसका साथै कृषि वस्तुहरूको उत्पादन, उपभोग, आयात–निर्यात विश्लेषण, बजार प्रवृत्तिको मूल्याङ्कन, बीउ, मल तथा अन्य कृषि निवेशसम्बन्धी अध्ययन र सल्लाह पनि उपलब्ध हुनेछन् ।
डिजिटल कृषि समाधानअन्तर्गत एआई आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श तथा बजार जडान सेवाहरू पनि उपलब्ध हुनेछन् । यसले कृषकहरूलाई आधुनिक प्रविधि अपनाउन सहज बनाउने र सरकारले भविष्यमा अपनाउनु पर्ने कृषि रणनीति निर्माणमा सघाउनेछ । कार्यक्रममा भारत सरकारअन्तर्गतको राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनसीईएल) का प्रबन्ध निर्देशक अनुपम कौशिकको विशेष उपस्थिति रहेको थियो । भारत सरकारले कृषि वस्तु निर्यात, कोटा व्यवस्थापनलगायतका अधिकार यस संस्थालाई दिएको छ । विगतमा नेपालले आयात गरेका गहुँ र चिनीजस्ता खाद्यान्न यिनैको माध्यमबाट ल्याइएको हो ।