नयाँदिल्ली । भारतले पछिल्लो दशकमा गरिबी घटाउन सफल भएको छ । विश्व बैंकले सार्वजनिक गरेको गरिबी र समानता संक्षिप्त प्रतिवेदनअनुसार, भारतले २०११/१२ र २०२२/२३ को बीचमा १७ दशमलव एक करोड मानिसहरूलाई चरम गरिबीबाट बाहिर निकालेको छ ।
प्रतिदिन एक सय ७२ भारुभन्दा कममा बाँच्ने मानिसहरूको संख्या, २०११/१२ मा १६ दशमलव दुई प्रतिशत रहेकोमा २०२२/२३ मा घटेर दुई दशमलव तीन प्रतिशतमा झरेको छ । यस कारण १७ दशमलव एक करोड मानिसहरू गरिबीको रेखाभन्दा माथि आएका छन् ।
प्रतिवेदनअनुसार, गाउँहरूमा चरम गरिबी १८ दशमलव ४ प्रतिशतबाट घटेर दुई दशमलव आठ प्रतिशतमा झरेको छ भने सहरी क्षेत्रमा १० दशमलव ७५ बाट घटेर एक दशमलव एक प्रतिशतमा झरेको छ । ग्रामीण/सहरी खाडल सात दशमलव सात प्रतिशतबाट एक दशमलव सात प्रतिशतमा सङ्कुचित भएको छ । यो वार्षिक १६ प्रतिशतको गिरावट हो ।
विश्व बैंकका अनुसार भारतमा ६५ प्रतिशत जनसंख्या भएको पाँच राज्यहरु–उत्तर प्रदेश, महाराष्ट्र, विहार, बंगाल र मध्य प्रदेशमा चरम गरिबी थियो । आर्थिक वर्ष २०२२/२३सम्म चरम गरिबी न्यूनीकरणमा उनीहरुको योगदान दुई तिहाइ थियो । यसका बाबजुद पनि यी राज्यहरुमा अहिले पनि ५४ प्रतिशत जनता गरिबीमा बाँचिरहेका छन् ।