काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाली चियाले विश्वबजारमा दरिलो उपस्थिति देखाउन सकेको वताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २९औँ राष्ट्रिय चिया दिवसका अवसरमा ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले विभिन्न चुनौतीहरूका बीच पनि नेपाली चिया प्रमुख निर्यातजन्य बालीका रुपमा रहेको बताए ।
चिया कृषक, मजदुर, उद्योगी व्यवसायी, सहकारी र सरकारको सामूहिक प्रयासबाट यो सम्भव भएको उनको भनाइ थियो । मुलुकको व्यापारघाटा चुलिँदो अवस्थामा चियामा नेपाल आत्मनिर्भर भएको उनले बताए । साथै भारतसहित तेस्रो मुलुकमा समेत निर्यात हुँदै आएकाले नेपाली चियामा अपार सम्भावना छ भन्ने देखाएको उनले उल्लेख गरे । बजारीकरणका लागि नेपाली चियाले अझै चुनौतीहरूको सामना गर्नु परिरहेको गुनासो आएको उल्लेख गर्दै उनले चियाको गुणस्तरीय वृद्धि र दीर्घकालीन बजारको समस्या समाधानका लागि रणनीतिक योजनाका साथ अधि बढ्न बोर्डलाई निर्देशन दिए । चिया क्षेत्रको समग्र नेतृत्व गरिरहेको बोर्डलाई स्रोत साधन सम्पन्न बनाई नितिगत समस्याहरूलाई फुकाउन मन्त्रालय तयार रहेको उनको भनाइ थियो ।
आगामी आर्थिक वर्ष चियामा लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने, चियालाई पर्यटनसँग जोड्ने र युवा तथा महिला उद्यमीलाई चियामा आक्रषित गर्नेगरी कार्यक्रम ल्याइने मन्त्री अधिकारीले जानकारी दिए । कार्यक्रममा बोर्डका अध्यक्ष तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले सबैको सामूहिक प्रयासमार्फत नेपालको चियाले महत्वपूर्ण स्थान बनाएको बताए । आगामी दिनमा यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सहजीकरण गर्ने उनले प्रतिबद्धता समेत जनाए ।