महेन्द्रनगर (धनुषा) । जनकपुरधामस्थित जानकी मन्दिरमा पवित्र जानकी जन्मोत्सवका अवसरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ । मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार जानकी मन्दिरले आयोजना गरेको कार्यक्रममा मंगलबारदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुनुका साथै अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ ।
जनकपुरधाममा जानकी जन्मोत्सव विशेष धुमधामका साथ मनाउन व्यापक तयारी गरिएको दासले बताएका छन् । वैशाख २३ गते मङ्गलबार जन्मोत्सवको मुख्य दिन बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिनेछ । सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको उनले बताए ।
मन्दिर व्यवस्थापन समितिका अनुसार यही वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने छ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ ।